काठमाडौँ । मलेसियामा जारी एसीसी पुरुष यू–१६ इस्ट जोन क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ९ विकेटले हराएको छ । ८१ रनको चुनौती नेपालले १ विकेट गुमाएर पूरा गरेको हो ।
मलेसियास्थित कोजल टुन्कु जाफर ओभलमा नेपालले १४.२ ओभरमा १ विकेट गुमाउँदै जित हासिल गरेको हो । श्रीयांश बजगाईंले अविजित रहँदै सर्वाधिक ३८ रन बनाए। ४२ बल खेलेका उनले ७ चौका प्रहार गरे।
प्रशिद्व जैशीले ३७ बलमा ३ चौकासहित अविजित रहँदै ३३ रन बनाए । जोय थापा १ रनमा पभिलियन फर्किए ।
प्रशिद्ध र श्रीयांशले अविजित ७६ रनको साझेदारी गर्दै नेपाललाई जिताएका हुन् ।
यसअघि नेपालका बायाँहाते स्पिनर शुभम खनालले पाँच विकेट लिएपछि जापान ८० रनमा समेटिएको थियो । टस जितेर पहिले ब्याटिङ रोजेको जापानले ३४.३ ओभरमा सबै विकेट गुमाउँदै ८० रनको योगफल बनायो। जापानका लागि कप्तान चार्ली हाराहिन्जले सर्वाधिक ३६ रन बनाए भने गबी हाराहिन्जले १३ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि शुभम खनालले पाँच विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। यस्तै, अभय यादवले दुई तथा सुशील रावल र विपिनप्रसाद शर्माले समान एक(एक विकेट लिए।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा सिङ्गापुरलाई छ विकेटले हराएको थियो ।