बजेट अधिवेशनमा संसदीय समिति बैठक नराख्न सांसद यादवको आग्रह
संशोधनकर्ता सदस्यले पनि राम्रोसँग छलफल गर्न पाउँदैनन्
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३ मंगलबार
1.7k
Shares
काठमाडौं। नेपाली कांग्रेसकी सांसद नागिना यादवले बजेट अधिवेशन चलिरहेको बेला संसदीय समितिमा विधेयकमाथिको छलफल नराख्न आग्रह गरेकी छिन्। उनले समयको चापलाई ध्यानमा राखेर समितिको बैठक सञ्चालन गर्न सुझाव दिइन्।
मङ्गलबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै यादवले यस्तो आग्रह गरेकी हुन्। समितिमा आज नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल थियो।
सांसद यादवले संसद बैठक पनि आजै बस्ने र बजेटका बारेमा पनि छलफल गर्नुपर्ने भएकाले बजेट सत्रमा विधेयकमाथि संसदीय समितिमा छलफल नगर्न आग्रह गरिन्। यसले संशोधनकर्ता सदस्यहरूले पनि राम्रोसँग संशोधनबारे छलफल गर्न नपाउने उनको भनाइ थियो।
उनले भनिन्, "समयको व्यस्ततालाई हेरौँ। समयको पावन्दी पनि हेरौँ। बरु बिदाको दिन बोलाउनुस् हामी आउँछौँ तर बजेटको सेसनको बेलामा बोलाउँदा संशोधनकर्ताहरू पनि आउनुहुन्न। हामीले पनि जति महत्त्व दिनुपर्ने हो त्यो दिन सक्छौँ कि सक्दैनौँ।"
यादवले समितिमा पनि विधेयकलाई राम्रो बनाउनका लागि आवश्यक समय दिन नसकिने स्पष्ट पारिन्।