arrow

जिरी एडभेन्चर ट्रेक केवल डकुमेन्ट्री होइन एक अभियान हो – शिवाकोटी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
ajayababu-shiwakoti-82-3-1.jpg

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जिरी एडभेन्चर ट्रेक डकुमेन्ट्रीमात्र नभइ एक अभियान भएको भन्दै यसले दोलखाका थुप्रै क्षेत्रहरुमा पर्यटनको ढोका खोल्ने बताएका छन् । 

थेम्बा समूहले निर्माण गरेको “जिरी एडभेन्चर ट्रेक” नामक डकुमेन्ट्रीको पहिलो सार्वजनिक प्रदर्शनमा बोल्दै शिवाकोटीले भने, 'जिरी एडभेन्चर ट्रेक केवल डकुमेन्ट्री होइन, एक अभियान हो—पूर्वका पदमार्गहरूलाई पुनर्जीवन दिने।'

जिरी दोलखाको गौरव भएको बताए । उनले भने, 'इतिहासले सगरमाथा पदमार्गको लप्रवेशद्वार बनाएको यो ठाउँ केवल भौगोलिक दृष्टिले मात्र हैन, सांस्कृतिक र पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण छ। जिरी र यस आसपासका पर्यटकीय गन्तव्यहरू चेर्दुङ, भुतपोखरी, पाँचपोखरी, जटापोखरी सँगसँगै दोलखाका अन्य गन्तव्यहरूलाई पनि धार्मिक र साहसिक पर्यटनमा जोड्नु आवश्यक छ। दोलखा भिमसेन, च्छोरोल्पा, लप्ची गुम्बा, कालिन्चोक, चिलङ्खा, सैलुङ, बिगु, सुनखानी, क्षमावति, हनुमन्ते, सिंगटी हुँदै तामाकोशी किनारका थुप्रै क्षेत्रहरू—पर्यटन सम्भावनाको खानी हुन्।'

नेता शिवाकोटीले केवल काठमाडौँ र पोखरालाई मात्रै होइन, पश्चिम र पूर्वको सन्तुलित पर्यटन विकासको दृष्टिकोण लिनु आवश्यक रहेको बताए । यसका लागि सडक, सञ्चार, सूचना प्रवाह, पर्यटन पूर्वाधार र स्थानीय सहभागिता सबैको समान महत्व हुने पनि उनले बताए ।

उनले पार्टीले यस्ता अभियानहरूलाई सदैव समर्थन गर्ने बताउँदै सम्बन्धित निकायलाई घचघचाई रहने बताए । शिवाकोटीले भने, 'हाम्रो पार्टीको दर्शन भनेको स्थानीय सशक्तीकरण, सांस्कृतिक सम्मान र समावेशी विकास हो। यही दर्शनअनुसार समग्र दोलखाका पर्यटन सम्भावनाहरू उजागर गर्न, नीति निर्माणदेखि कार्यक्रम कार्यान्वयनसम्म पार्टी सधैं सकारात्मक रूपमा उभिन्छ। यो कामको लागि जेन–जी पुस्तालाई समेत लिएर हामी जाने प्रतिबद्धता व्यक्त गर्दछु।'

उनले जिरीसँगै दोलखाको हरेक कुनाको आवाज उठाउनु पर्ने भन्दै 'जहाँ प्रकृति बोल्छ, जहाँ संस्कृति गुञ्जिन्छ, जहाँ साहसिकता जीवनशैली हो' भने ।

उनले यस्तो सिर्जनशील प्रयासले युवा नेतृत्व र स्थानीय पहिचानलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिएकोसमेत बताएका छन् । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ