नेपालमा पहिलो विश्वस्तरीय 'डिजिटल' आँखा स्वास्थ्य तालिमको थालनी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
552
Shares
काठमाडौँ । उपचारपछि निको हुने अन्धोपना निवारण गर्ने उद्देश्यका साथ नेपालमा पहिलोपटक आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय 'डिजिटल' तालिम सञ्चालनमा आएको छ। नेपाल नेत्रज्योति सङ्घले अर्बिस इन्टरनेसनल भारतको आर्थिक एवं प्राविधिक सहयोगमा विराटनगर आँखा अस्पतालमा यो अन्तर्राष्ट्रिय तालिम सुरु गरेको हो।
आँखा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने क्लिनिकल, पारामेडिक्स, व्यवस्थापन तथा प्रशासनिक कर्मचारीहरूलाई तालिम प्रदान गरी दक्ष जनशक्तिका रूपमा विकसित गर्ने लक्ष्यका साथ यी दुई संस्थाले विश्वस्तरीय आँखा स्वास्थ्यसम्बन्धी तालिम परियोजनासमेत सञ्चालनमा ल्याएका छन्।
यो परियोजनाले विशेषगरी समय, आर्थिक अभाव, भाषागत समस्या र विदेश गएर तालिम लिन नसक्ने व्यक्तिहरूलाई ठूलो सहयोग पुर्याउने दाबी गरिएको छ। नेपालबाट उपचारपछि निको हुने अन्धोपना निवारण गर्न तालिममार्फत निस्किएका जनशक्तिले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
तालिम परियोजना सञ्चालन गर्न नेपाल नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द र अर्बिस इन्टरनेसनल भारतका निर्देशक डा. ऋषिराज बोराहले हालै विराटनगरमा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। दुई संस्थाबीचको यो सहकार्यले नेपाललाई आँखा उपचारसम्बन्धी 'डिजिटल' तालिमको 'हब' का रूपमा विकसित गर्ने लक्ष्य राखिएको छ। महासचिव चन्दका अनुसार, भविष्यमा आवश्यकताअनुसार विभिन्न देशका विभिन्न भाषामा समेत तालिम सञ्चालन गरिनेछ।
अर्बिस इन्टरनेसनलका निर्देशक डा. बोराहले भने, "नेपालले आँखा स्वास्थ्य एवं उपचारका क्षेत्रमा गरेको प्रगति विश्वमै उदाहरणीय छ। अब विश्वस्तरमै सञ्चालन हुने क्षमता अभिवृद्धि तालिम नेपालमा नै सञ्चालनका लागि नेत्रज्योति सङ्घसँगको सहकार्यमा यो परियोजना सञ्चालन हुनेछ।"
तालिममा सहभागी हुनेहरूले भौतिक रूपमा आफैं उपस्थित भएर वा स्यान्डविच ब्लेन्डेड लर्निङ एप्रोचमार्फत आफू कार्यरत जुनसुकै ठाउँबाट पनि मोतियाबिन्दु, ऐन्टेरियर सेगमेन्ट, भिट्रियो रेटिना, जलबिन्दु, अप्ट्रोमेट्री साइन्स, आँखा स्वास्थ्य कार्यक्रम व्यवस्थापन तालिम, वेट ल्याब व्यवस्थापनलगायत अप्थाल्मिक विधामा सहभागी हुन सक्नेछन्। यसमा हाइ टेक्नोलोजी रिमोट सर्जिकल कीटजस्ता अत्यन्तै अत्याधुनिक प्रविधिको प्रयोग हुने विज्ञप्तिमा जनाइएको छ।
अर्बिसको साइबर साइट प्रविधिको प्रयोग गरी विभिन्न विधामा सिएमई र अस्पतालमा आधारित ख्यातिप्राप्त विषयविज्ञद्वारा सहजीकरण गरिने तालिम नियमित रूपमा सञ्चालन गरिने सङ्घले जनाएको छ। यो परियोजनाअन्तर्गत सञ्चालन हुने तालिममा नेपालका सम्पूर्ण आँखा अस्पताल, मेडिकल कलेज, निजी आँखा अस्पताल, स्वास्थ्य सेवा प्रतिष्ठान, सरकारी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिका साथै विश्वका विभिन्न स्वास्थ्य संस्थाका जनशक्ति पनि सहभागी हुन सक्नेछन्।
सङ्घका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्रका अनुसार, परियोजना सञ्चालनका लागि हाल विराटनगर आँखा अस्पतालमा तालिम सञ्चालनका लागि आवश्यक सिमुलेटर, वेट ल्याब र रिमोट सर्जिकल कीटसहित 'स्टेट अफ आर्ट फ्यासिलिटी' तहको भौतिक संरचना तयार भई तालिम सञ्चालन भएको छ। उनले विस्तारै भैरहवाको श्री रणअम्बिका शाह आँखा अस्पतालमा पनि यो परियोजना विस्तार हुने जानकारी दिए। लहान आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सुधीर ठाकुरले नेपालमा नै पहिलोपटक परियोजनामार्फत यस प्रकारको विश्वस्तरीय तालिम सञ्चालन गरिनु महत्त्वपूर्ण भएको बताए।
सङ्घका कार्यक्रम व्यवस्थापक रञ्जन शाहका अनुसार, हाललाई नेपालका जनशक्तिलाई लक्षित गरी तालिम सञ्चालन गरिनेछ भने अर्को वर्षदेखि अन्य देशका जनशक्तिका लागि पनि खुला गरिनेछ। परियोजनाअन्तर्गत प्रकृतिका आधारमा एकहप्ते, एकमहिने, तीनमहिने, एकवर्षे र दुईवर्षे तालिम सञ्चालन हुनेछन्।
नेपाल नेत्रज्योति सङ्घले स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा आफ्ना २८ आँखा अस्पताल, २२४ उपचार केन्द्र र ४४ जिल्ला शाखा सञ्जालमार्फत नेपाली तथा अन्य विभिन्न देशका नागरिक गरी ४ करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया गरेको छ। यो परियोजनाले नेपालमा मात्र नभई विश्वमा नै उपचारपछि निको हुने अन्धोपना निवारण गर्न कोसेढुङ्गा सावित हुने अपेक्षा राखिएको छ।