एमाले-कांग्रेस सहकार्य बिथोल्न विरोधी सक्रिय -प्रधानमन्त्री ओली [भिडियो]
१३ महिनापछि फेरि नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिने, एमाले वास्तवमै मजबुत राष्ट्रिय शक्ति र लोकप्रिय पार्टीको रुपमा रहेको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
642
Shares
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले एमाले र नेपाली कांग्रेसबीचको सहकार्यलाई भड्काउने प्रयास गरिरहेको बताएका छन्। आइतबार काठमाडौंमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको भए पनि कुनै पनि समय नेतृत्वमा नरहन सक्ने बताए। उनले अब १३ महिनापछि फेरि नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिने दाबी गरे।
उनले एमालेको उद्देश्य ‘मिसन ०८४’ रहेको र यो कुनै अन्योल वा अमूर्त कुरा नभएको जिकिर गरे। "मिसन ०८४ भनेको नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई, यो देशभक्त शक्तिलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्ने हो," ओलीले भने, "यो राष्ट्रिय शक्ति त छँदैछ, तर यसलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकास गर्नुपर्छ, मिसन ०८४ मा।"
ओलीका अनुसार, प्रतिक्रियावादी शक्तिहरूले अनेक प्रकारका जालझेल गरेर अहिले सहकार्य गरिरहेको नेपाली कांग्रेसलाई ‘मिसन ०८४ भनेको छ, कांग्रेसलाई सिध्याउँछु भनेको छ, बहुमत ल्याउँछु भनेको छ’ भनेर खेल्ने काम गरिरहेका छन्। उनले बहुमत ल्याउने दाबी कांग्रेसले पनि गरिरहेको र कसले बहुमत ल्याउँछ भन्ने कुरा आफ्नो ठाउँमा रहेको बताए।
अध्यक्ष ओलीले भने, “आज हामी सरकारको नेतृत्व गरिरहेका छौँ, कुनै पनि समय नेतृत्वमा हुँदैनौँ। अब १३ महिनापछि फेरि हामी नेपाली कांग्रेसलाई नेतृत्व सुम्पिन्छौँ। हामीले सम्झौता गरेका छौँ।”
प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले समेत ०६४ सालको जस्तै लहर आइसकेको भन्ने गरेको र बहुमत ल्याउने सपना देखिरहेको टिप्पणी गरे। ओलीले एमाले वास्तवमै मजबुत राष्ट्रिय शक्ति र लोकप्रिय पार्टीको रुपमा रहेको दाबी गरे।