आइतबारदेखि संसद सहज रूपमा अघि बढ्छ: एमाले [भिडियो]
प्रतिपक्षीले बैठक गरौँ भन्दा हुने, नगरौँ भन्दा नहुने भन्ने कुराको दिनको रिपिटेशन सधैँ हुने अवस्था बन्दैन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
685
Shares
काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आगामी आइतबारदेखि प्रतिनिधि सभाको बैठक सहज ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।
शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले आगामी दिनमा संसद भवन आउने, सूचना टाँस गर्ने र फर्किने अवस्था नबन्ने बताए। उनले प्रतिपक्षीले 'बैठक गरौँ भन्दा हुने र नगरौँ भन्दा नहुने' अवस्थाको सिर्जना हुन नदिने जिकिर गरे।
प्रमुख सचेतक बर्तौलाले संसदले गर्नुपर्ने महत्वपूर्ण काममा जोडिनुपर्ने आवश्यकता रहेको बताए। उनले कानूनहरू पारित गर्नुपर्ने कार्यभार रहेको उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमाथि छलफल नभएको र त्यसलाई पारित गर्नुपर्ने दिशामा जानुपर्ने जिम्मेवारी रहेको समेत जिकिर गरे। उनले आइतबारदेखि प्रतिनिधि सभाको बैठक नियमित र सहज ढङ्गले सञ्चालन हुने दोहोर्याए।
"आइतबारदेखिको बैठक सहज ढङ्गले अगाडि बढ्छ," उनले भने, "यही हिसाबले हरेक दिन आउने, सूचना टाँस गरेर फर्किरहने, प्रतिपक्षीले बैठक गरौँ भन्दा हुने, नगरौँ भन्दा नहुने भन्ने कुराको दिनको रिपिटेशन सधैँ हुने अवस्था बन्दैन। संसद्ले गर्नुपर्ने महत्वपूर्ण काममा पनि हामी जोडिनुपर्छ। कानून पारित गर्नुपर्ने कार्यभार छन्। बजेटमाथि छलफल भएको छैन, त्यसलाई पारित गर्नुपर्ने दिशामा जानुपर्छ। आगामी दिनहरूमा पनि यस्तै परिस्थितिहरू आउने, सूचना टाँस गर्ने, फर्किने अवस्था बन्दैन। हाउस अगाडि बढ्छ।"
उनले प्रतिपक्षीलाई पेलेर जाने कुरा वर्तमान सरकारको शब्दकोशमै नरहेको पनि जिकिर गरे।