arrow

नेपाल र नेदरल्याण्ड्स मैदानमा, उच्च मनोबलसहित नेपाल बलिङमा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
nep-netherlands-25-6-4.jpg

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा अहिले नेदरल्यान्ड्ससँग खेलिरहेको छ । खेल स्कटल्याण्डको डुन्डीमा भइरहेको हो । खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दैछ ।

यस शृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएर रेकर्ड बनाएको थियो । जितसँगै ८ टोली सहभागी लिग–२ मा नेपाल १३ खेलमा ८ अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । नेदरल्यान्ड्स २० खेलमा २६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

 लिग२ अन्तर्गत नेपाल, घरेलु टोली स्कटल्याण्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय एक दिवसीय शृङ्खला भइरहेको हो । आईसीसी विश्वकप लिगको अन्तिममा शीर्ष–४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ । 

नेपालको कीर्तिमानी जितसँगै बढेको मनोबल 
नेपालले सोमबार राति स्कटल्याण्डलाई मात्र एक विकेटले हराएर सनसनी मच्यायो । लगभग हार नजिक पुगेको खेलमा नेपालले सफलता हासिल गरेको थियो । 

त्यतिमात्र होइन नेपालले २९७ रनको उच्च योगफलको चुनौती पहिलो पटक पूरा गरेको हो । एक दिवसीयमा नेपालको यो उच्च रन पछ्याएर हासिल गरेको पहिलो सफलता हो । 

घरेलु टिमले प्रस्तुत गरेको २९७ रनको लक्ष्य नेपालले ४९.५ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले भेट्टाएको यो हालसम्मकै ठूलो लक्ष्य हो । 

यसअघि नेपालले सन् २०२३ मा नामिबियाविरुद्ध र सन् २०२४ मा क्यानाडाविरुद्ध समान २८६ रनको लक्ष्य पूरा गरेको थियो ।

नेपालको जितमा नवौँ नम्बरमा ब्याटिङका निम्ति आएका करण केसीले सर्वाधिक ६५ रन बनाए । करणले ४१ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै अविजित रहे । उनको एक दिवसीयमा पहिलो अर्धशतकसमेत हो ।

ओपनर कुशल भुर्तेलले ४४ बलमा ११ चौकासहित ५३ रन बनाए । गुल्शनकुमार झा ४२, भीम सार्की ४०, कप्तान रोहितकुमार पौडेल ३७ र आसिफ शेख २० रनमा आउट भए ।

स्कटल्यान्डका ब्रान्डन म्याकमुलनले सर्वाधिक तीन विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको थियो। चार्लि टियरले सर्वाधिक ८० रन बनाए । 

नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान दुई विकेट लिए। सन्दीप लामिछानेले एक विकेट लिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ