काठमाडौँ । पूर्व राष्ट्रपति एवं एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी उत्तरी छिमेकी देश चीनबाट फर्केकी छिन् । गत जेठ १० गते राति एयर चाइनाको उडान नम्बर सीजेड ३०६८ बाट ग्वाङ्झाओ हुँदै चीनको राजधानी बेइजिङ गएकी उनी आज बिहान स्वदेश फर्केकी हुन् ।
एमालेका नेताहरुको नेतृत्व गरेर चीन गएकी उनले १० दिने चीन भ्रमणबाट के लिएर फर्किन् भन्ने बारेमा केही प्रतिक्रिया दिएकी छैनिन् ।
उनीसँगै नेकपा एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारीलगायत रहेका थिए । पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण फलदायी र उपलब्धिमुलक रहेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताए ।
मन्त्री भण्डारीका अनुसार भ्रमणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले चिनियाँ उपराष्ट्रपति हान चेङ, सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत उच्चपदस्थ अधिकारीहरुसँग भेटवार्ता गरेकी थिइन् ।
भ्रमणका क्रममा चीन–नेपालबीचको द्विपक्षीय सहयोग आदानप्रदान, सांस्कृति सम्बन्ध, अर्थ कुटनीति लगायतका विषयमा छलफल भएको मन्त्री भण्डारीले बताए ।
उनले चीन–नेपाल बीचमा विगतमा भएका समझदारी एवं सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल भएको तथा चिनियाँ पक्षले विगतमा भएका समझदारी कार्यान्वयनका लागि प्रतिवद्धता व्यक्त गरेको जानकारी दिए ।
पूर्वराष्ट्रपति भण्डारीले चीनमा पाएको उच्चस्तरको सम्मानपछि नेपालमा वाम शक्ति एकीकरण, नेतृत्व स्वीकार्यतालाई चीनले सकारात्मक रुपमा लिएको विश्लेषणहरु हुन थालेका छन् ।
अर्कातिर यही भ्रमणबाट पूर्व एमाले उपाध्यक्ष भण्डारी राजनीतिमा फर्केको विश्लेषणसमेत गरिएको छ । उनी पार्टी नेतृत्वको कसरत गरिरहेको एमालेभित्रै चर्चा छ ।