काठमाडौँ । उत्तम कुँवर स्मारक पुरस्कार गुठीले २०८१ सालको ‘उत्तम शान्ति पुरस्कार’ जीवा लामिछानेलाई प्रदान गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले नियात्राकृति ‘अक्षत अन्टार्कटिका’ का लागि लामिछानेलाई पुरस्कार प्रदान गरेका हुन् ।
‘उत्तम शान्ति पुरस्कार’ गैरआख्यान कृतिलाई मात्रै प्रदान गरिन्छ । पुरस्कारका साथ लामिछानेलाई एक लाख एक रुपैयाँ समेत प्रदान गरियो ।
पुरस्कार प्रदान गर्दै प्रमुख अतिथि प्रा.डा. त्रिपाठीले लामिछानेलाई बधाई दिँदै उत्तम कुँवरसँगको आफ्नो सम्बन्धको चर्चा गरे ।
‘रूपरेखा’ अविस्मरणीय साहित्यिक पत्रिका रहेको उल्लेख गर्दै उनले उत्तम कुँवर कुशल सम्पादक मात्रै नभएर अनुवादक पनि भएको बताए ।
नियात्राकार लामिछानेले यो पुरस्कारले आफूलाई जिम्मेवारी थपेको महसुस भएको बताए ।
उनले फाइन प्रिन्टले प्रकाशित गरेको ‘अक्षत अन्टार्कटिका’ लेखनको रचनागर्भबारे चर्चा गर्दै आफूले यात्राको अनुभूतिलाई शब्दमा उतार्ने काम मात्रै गरेको बताए ।
समालोचक तथा साहित्यकार प्रा.डा. ज्ञानू पाण्डेले पुरस्कृत कृतिको चर्चा गर्दै पुस्तकमा नियात्राकार लामिछानेको कवि हृदय छचल्किएको बताइन् ।
यस पुस्तकले नेपाली नियात्रामा नयाँ विषयलाई प्रवेश गराएको बताउँदै डा. पाण्डेले पाठकलाई तृप्त बनाउने महत्वपूर्ण पुस्तक लामिछानेले दिएको उल्लेख गरिन् ।
कार्यक्रममा डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिना, पद्मावती सिंह, नयनराज पाण्डेले कृति, कृतिकार र गुठीका बारेमा बोलेका थिए ।