गणतन्त्र दिवस भव्य बनाउन एमालेले यी नेतालाई दियो जिम्मेवारी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
608
Shares
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गणतन्त्र दिवसको अवसरमा आयोजना गरिने उत्सवलाई सफल पार्न पार्टीका शीर्ष नेताहरूलाई जिम्मेवारी तोकेको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जनसङ्गठनका अध्यक्ष, इन्चार्ज र काठमाडौँ उपत्यकाका वडा तहसम्मका पदाधिकारीहरूको भेलाले शक्ति परिचालन र उत्सवको तयारीका लागि नेताहरूलाई विभिन्न भूमिका बाँडफाँड गरेको हो।
महासचिव शङ्कर पोखरेलले गणतन्त्र दिवसलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीले फैलाएका भ्रम चिर्नका लागि यो जनप्रदर्शनको तयारी गरिएको बताए।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, जनमानस परिचालनको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ। कोशी प्रदेशका जिल्लाहरूको समन्वयका लागि उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी तोकिएको छ भने मधेश प्रदेशका आठवटै जिल्लाका सम्पर्क मञ्चहरूको समन्वय गर्ने जिम्मा उपाध्यक्ष युवराज ज्ञवालीलाई दिइएको छ।
उपत्यकाका जनप्रदर्शनमा ठूलो सङ्ख्यामा सहभागी गराउन ललितपुर र भक्तपुरको समन्वय गर्ने जिम्मेवारी क्रमशः उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र उपाध्यक्ष गुरु बराललाई दिइएको छ। उपत्यकाबाहेक बागमती प्रदेशका १० जिल्लाको समन्वयको जिम्मा उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाएका छन्।
स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ। बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदीप ज्ञवालीलाई, सुदूरपश्चिम प्रदेश सम्पर्क समन्वय र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्टलाई तथा लुम्बिनी र गण्डकीका सबै जिल्ला समन्वयको जिम्मा सचिव पद्मा अर्याललाई तोकिएको छ।
जनसङ्गठनहरूको संयोजनका लागि सचिव गोकर्ण विष्टलाई, उपत्यका विशेषको संयोजन सचिव योगेश भट्टराईलाई र सबै विभागको संयोजनको जिम्मेवारी सचिव छविलाल विश्कर्मालाई दिइएको छ। गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते बिहान भृकुटीमण्डपमा एमालेका नेता तथा कार्यकर्तालाई झाँकी, जुलुस र आफ्नो पार्टी, जनसङ्गठनको पहिचानसहित उपस्थित हुन आजको भेलाले निर्देश गरेको छ। आइतबार बसेको सचिवालय बैठकले गणतन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो।