अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने एमालेको निर्णय
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
642
Shares
काठमाडौँ । नेकपा (एमाले) ले आफ्नो विद्यार्थी सङ्गठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय गरेको छ। आइतबार ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो।
एमाले सचिव पद्म अर्यालले अनेरास्ववियुको उमेर हदसम्बन्धी यो निर्णय चाँडै सर्कुलर गरी जानकारी गराइने बताए। उनले अन्य पार्टीले पनि आफ्ना विद्यार्थी सङ्गठनमा उमेर हद तोकेको सन्दर्भमा एमाले अनेरास्ववियुमा पनि उमेर हद लागू हुने उल्लेख गरे। यसअघि नेपाल विद्यार्थी सङ्घ र अनेरास्ववियु (क्रान्तिकारी) ले ३२ वर्ष उमेर हद तोकेका थिए।
एमालेले राष्ट्रिय युवा सङ्घमा भने ४० वर्षे उमेर हद तोकेको छ। अनेरास्ववियुको महाधिवेशन यही जेठ २५ देखि २७ गते काठमाडौँमा तोकिएको छ।