विश्व स्वास्थ्य सङ्गठन प्रमुखको आह्वान : महामारी सम्झौता पारित गर्न सदस्य राष्ट्रहरूलाई आग्रह
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
1.3k
Shares
जेनेभा । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले विश्वका सरकारहरूलाई महामारीसम्बन्धी ऐतिहासिक अन्तर्राष्ट्रिय सम्झौता पारित गर्न सोमबार जोडदार आग्रह गरेका छन्। कोरोना महामारीले उजागर गरेको विश्वव्यापी असमानता र समन्वयको कमीलाई भविष्यमा दोहोरिन नदिन यो सम्झौता अपरिहार्य रहेको उनको भनाइ छ।
हाल जेनेभामा जारी विश्व स्वास्थ्य सभामा सदस्य राष्ट्रका प्रतिनिधिहरू सम्झौताको मस्यौदामाथि गहन छलफल गरिरहेका छन्। सभामा विभिन्न राष्ट्रका सरकार र स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको छ।
उद्घाटन समारोहमा महानिर्देशक टेड्रोसले भने, "सङ्कटको कठिन घडीमा पनि तपाईंहरूले अथक प्रयास गर्नुभयो, हार मान्नुभएन र अन्ततः यो महत्वपूर्ण सम्झौताको नजिक पुग्नुभएको छ।" उनले यो क्षणलाई विश्व स्वास्थ्यको इतिहासमा एक महत्वपूर्ण कोसेढुङ्गाको रूपमा व्याख्या गरे।
उक्त सम्झौताको मुख्य उद्देश्य भविष्यमा आउने महामारीहरूको पहिचान, रोकथाम, निगरानी र उपचारमा विश्वव्यापी सहकार्यलाई सुदृढ पार्नुका साथै सबै राष्ट्रमा समान पहुँच सुनिश्चित गर्नु हो। विगतको कोरोना महामारीमा धनी राष्ट्रहरूले खोप तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीमा एकाधिकार जमाउँदा विकासशील राष्ट्रहरूले ठूलो समस्या भोग्नुपरेको तितो अनुभवलाई मध्यनजर गर्दै यो सम्झौता ल्याइएको हो।
यस सम्झौतामा रोग फैलाउने जीवाणु तथा भाइरसको जानकारी तत्काल साझा गर्ने र त्यसबाट विकसित खोप, उपचार विधि र परीक्षण सामग्रीको लाभलाई न्यायसङ्गत रूपमा वितरण गर्ने प्रणाली स्थापित गरिनेछ। यो प्रणाली सन् २०२६ सम्म पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने लक्ष्य राखिएको छ। सम्झौतालाई कार्यान्वयन गर्नका लागि कम्तीमा ६० सदस्य राष्ट्रको अनुमोदन आवश्यक पर्नेछ।
यद्यपि, केही राष्ट्रहरूले यो सम्झौताले राष्ट्रिय सार्वभौमसत्तामाथि हस्तक्षेप गर्न सक्ने भन्दै असन्तुष्टि जनाएका छन्। तर पनि, अधिकांश सरकारहरूले यसलाई विश्वव्यापी मानव स्वास्थ्य सुरक्षाको लागि एक अपरिहार्य कदमको रूपमा लिएका छन्।