अमेरिका हल्लाउने 'सिरियल किलर' लाई दिइयो मृत्युदण्ड
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
1.5k
Shares
काठमाडौँ । १९९० को दशकमा अमेरिका हल्लाउने हत्याकाण्डका दोषी एक सिरियल किलरलाई मृत्युदण्ड दिइएको छ । अमेरिकाको दक्षिणी राज्य फ्लोरिडामा ‘क्रस कन्ट्री किलर’ भनेर चिनिने ती सिरियल किलरलाई बिहीबार घातक सुई (लेथल इन्जेक्सन) द्वारा मृत्युदण्ड दिइएको हो।
सन् १९९५ को नोभेम्बरमा टिना मेरी क्रिब्सको हत्या गरेको अभियोगमा ६२ वर्षीय ग्लेन रोजर्सलाई स्टार्क नजिकैको फ्लोरिडा राज्य कारागारमा घातक सुई लगाइएको थियो र साँझ ६:१६ बजे मृत घोषित गरिएको अधिकारीहरूले बताएका छन्।
दुई बच्चाकी आमा ३४ वर्षीया क्रिब्सको छुरा प्रहार गरी हत्या गरिएको थियो र उनको शव होटलको ‘बाथटब’मा फेला परेको थियो ।
रोजर्सलाई सोही वर्ष क्यालिफोर्नियामा ३३ वर्षीया सान्ड्रा गालाघरको हत्यामा पनि दोषी ठहर गरिएको थियो र उनी मिसिसिपी र लुइसियानामा कम्तीमा दुई अन्य महिलाको हत्यामा संदिग्ध थिए।
संयुक्त राज्य अमेरिकामा यस वर्ष १५ जनालाई मृत्युदण्ड दिइएको छ जसमध्ये ११ जनालाई घातक सुईद्वारा; दुई जनालाई गोली हानी र अन्य दुई जनालाई नाइट्रोजन ग्याँसको प्रयोग गरी मृत्युदण्ड दिइएको थियो ।
अमेरिकाका ५० राज्यमध्ये २३ राज्यमा मृत्युदण्डको सजाय अन्त्य गरिएको छ भने क्यालिफोर्निया, ओरेगन र पेन्सिलभेनियामा मृत्युदण्डको व्यवस्था कायम छ ।