गभर्नरमा मेरो कोही उम्मेदवार छैन, योग्यताका आधारमा नियुक्ति हुन्छ - प्रधानमन्त्री ओली [भिडियो]
आयोगका अध्यक्षहरू मेरो आफ्नो उम्मेदवार होइन, छैन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १ बिहिबार
749
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर योग्यताको आधारमा नियुक्त हुने स्पष्ट पारेका छन्।
आज बिहीबार काठमाडौंमा पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्र बैंकको रिक्त गभर्नर पदमा व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमका आधारमा क्षमतावान व्यक्तिलाई नियुक्त गरिने बताए। उनले प्रतिस्पर्धी र कसैबाट पनि प्रभावित नहुने व्यक्ति गभर्नरमा आउनुपर्ने धारणा व्यक्त गरे। योग्यता नै गभर्नर नियुक्तिको मुख्य आधार हुनुपर्ने उनको भनाइ थियो। देशलाई काम गर्न सक्ने व्यक्ति भए जो कोही पनि गभर्नरका लागि योग्य हुने उनले बताए।
प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्यमा पनि आफ्नो कुनै उम्मेदवार नरहेको स्पष्ट पारे। उनले ती आयोगका अध्यक्षहरू कसैको पनि ‘आफ्नो मान्छे’ नभएको दाबी गरे। एकजना अध्यक्षसँग त आफ्नो भेटसमेत नभएको र अर्का एकजनासँग मुख्यसचिव हुँदा काम गरेको नाताले मात्र चिनेको उनले बताए। तर उनीहरूसँग आफ्नो कुनै नाता, सम्बन्ध वा राजनीतिक सम्बन्ध नरहेको उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले भने, ‘टिआरसीमा, डिसापियर कमिसनमा मेरो आफ्नो उम्मेदवार होइन, छैन । तिनका अध्यक्ष कतै पनि मेरो भन्ने होइनन् । एउटासँग मेरो देखभेट पनि भएको छैन । नाम सुनेको थिएँ, बिर्सिएँ । एउटासँग मुख्यसचिव भएर काम गरेको हुनाले मैले चिनेको हुँ । का.मु मुख्यसचिव हुँदा पहिलो पटक भेटेको हो, चिनेको हो । निमित्त हुँदा चिनेको, का.मु. मैले नै बनाएको हो । मुख्यसचिव कन्फर्म पनि मैले नै बनाएको हो । तर न मसँग नाता, सम्बन्ध, न केही न केही । न पोल्टिकल रिलेशन । न उहाँ पोल्टिकल मान्छे हो । हुनतः अब मान्छे पोल्टिकल प्राणि त हो नै । उहाँले कहाँ भोट हाल्नुहुन्छ, मैले सोधेको छैन । राष्ट्र बैंकको गभर्नरमा मेरो क्याण्डिडेट कोही पनि छैन । आफ्नो भन्ने केही पनि छैन । कम्पिटिटिभ खालको मान्छे र ननडिभिटेबल मान्छे ल्याऔँ भन्ने मेरो सधैँ आग्रह हुन्छ । मेरिटको विशेषमा ल्याऔँ । काम गर्नसक्ने मान्छे भए देशलाई भइगयो नि । यो र उ किन प¥यो ।’
प्रधानमन्त्री ओलीले योग्यता र क्षमताकै आधारमा टीआरसी र बेपत्ता आयोगको अध्यक्ष तथा सदस्यहरू सिफारिस समितिको सिफारिसमा नियुक्त भएको पनि स्पष्ट पारे।