नारायण खतिवडाको 'स्वार्थी संसार' सार्वजनिक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २९ सोमबार
922
Shares
काठमाडौँ । गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ । डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको ‘स्वार्थी संसार’ गीतमा वरिष्ठ संगीतकार लक्ष्मण शेषको संगीत सिर्जना एवं मधुर आवाज धनी स्वरुपराज आचार्यको स्वर रहेको छ ।
लामो समयपछिको अन्तरालमा शेषको यसै गीतमार्फत पुनरागमन हुनु साङ्गीतिक क्षेत्रका लागि खुशीको कुरा हो । उक्त ‘स्वार्थी संसार’ गीतलाई नमस्ते नेपाल डिजिटल स्टूडियोबाट यू ट्युवमा र विभिन्न अन्तर्राष्ट्रिय अडियो तथा भिडियो प्लेटफर्म मार्फत अपलोड गरिएको छ ।
वास्तविक घटनामा आधारित एवम बहुसंख्यक मानिसहरूले समयक्रममा कुनै न कुनै अनुभव र घटना ब्यहोरेको भाव र सन्देश यस गीतमा रहेको छ ।
हिजोआज मानिसहरू आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुने, लाभ र फाइदा लिने तर आफ्नो लुकेको स्वार्थ पूरा भएपछि कुल्चेर हिँड्ने प्रवृत्तिलाई गीतमा प्रस्तुत गरिएको छ ।
गीतकार नारायण खतिवडाका यसभन्दा पहिला पनि दर्जनौँ गीतहरु बजारमा आएका छन् । सम्झनाका पाइलाहरू नामक गीति संग्रहमा एकसय नौ वटा गीतहरू समावेश छन् भने स्वदेश छोडी, मनका कुरा, विन्दास, देखुँदेखुँ, सन्देश पु¥याइदेउ, मेरो कथा, चोखो चोखो, लगायतका दर्जनौं गीत बजारमा रहेका छन् ।
गीत, कविता, मुक्तक र समसामयिक लेख रचना विधामा कलम चलाउँदै आएका गीतकार खतिवडा सरकारी सेवामा छन् ।
सामाजिक परिवेश, वर्तमान परिस्थिति, समसामयिक घट्ना, प्रेम, वियोग तथा राष्ट्र र राष्ट्रियता पक्षलाई कलात्मक, रचात्मक तथा सन्देशमूलक भावसहित साहित्यमा उतार्न श्रष्टा गीतकार खतिवडाको पछिल्लो सिर्जना ‘स्वार्थी संसार’ पनि एउटा उदाहरणीय गीत बनेको छ ।
खतिवडाको शब्द रचना, लक्ष्मण शेषको मौलिक संगीत सिर्जना र स्वरका धनी गायक स्वरूपराज आचार्यको गायनको त्रिपक्षीय संयोग मिलेको "स्वार्थी संसार" गीतले संगीतको दुनियाँमा नौलो छाप छोड्ने विश्वास गर्न सकिन्छ ।