रोगप्रतिरोधात्मक क्षमता वृद्धिका लागि खानामा तुलसीको प्रयोग बढ्दो
अर्जुन बिष्ट,
प्रकाशित २०८२ वैशाख २७ शनिबार
1.1k
Shares
अंग्रेजीमा ’बासिल’ अर्थात् नेपालीमा ’तुलसी’ ले हाल विश्वको कुनै पनि भान्सामा खाना वा परिकारहरूलाई स्वादिलो बनाउने एक महत्वपूर्ण जडिबुटीका रुपमा आफ्नो परिचय बनाइसकेको छ । चाहे त्यो भान्सामा बन्ने कुनै पनि खाना, तरकारी, सूप वा सलाद नै किन नहोस्, त्यसमा तुलसीको संयोजन भयो भने खानाको परिकार नै स्वादिलो गनिन थालेको आभाष हुन्छ ।
तुलसीलाई विश्वमा कृषि वैज्ञानिकहरूले विभिन्न अनुसन्धान गरी खानामा प्रयोग गर्ने हिसावले विकसित गर्न सफल भएका छन् । यो उनीहरूको लामो अनुसन्धानबाट प्राप्त प्रतिफलको रुपमा लिइन्छ ।
पूजा गर्ने तुलसीकै यो एउटा विकसित रुपमा उनीहरूले अगाडि ल्याएका हुन् । यसलाई विभिन्न नामले पुकारिन्छ । जस्तै स्वीट बासिल, थाई बासिल आदि आदि ।
यो जडिबुटीको वैज्ञानिक नाम ’ओसिमम बासिलिकम’ हो । खानाहरूमा प्रयोगका अलावा समाजमा तुलसीको महत्व व्यापक र विशाल छ । प्राचीन इजिप्टका चिहान र लासहरूलाई लामो समयसम्म सुरक्षित राख्न तुलसीको व्यापक प्रयोग गरिएको पाइएको छ ।
ग्रीसमा प्राचीन समयमा शाही खलकहरूले राजखान्दानीको रुपमा प्रयोग गर्ने जडिबुटीकै रुपमा तुलसीलाई अंगीकार गरेको पाइन्छ । प्राचीन परम्परागत आयुवेर्दीय औषधीय रुपमा त यसको प्रयोगलाई व्यापक पारिएको छ ।
५००० वर्षदेखि यो विश्वका विभिन्न मुलुकमा विस्तार भई यसको खेती गरिँदै आएको र सन् ८०७ देखि चीनको हुनान प्रान्तमा स्वीट बासिलको रुपमा यसलाई पुकारिन थालिएको तथा यस समयदेखि नै यसलाई इन्डोर प्लान्टको रुपमासमेत अंगीकार गर्न थालिएको पाइन्छ ।
यसको उत्पत्ति प्रारम्भमा भारत भएको अनुमान गरिएको छ । तुलसी यस्तो जात हो, जसले चिसो ठ्याम्मै सहनै सक्तैन । विस्तारै चिसो भएको स्थानहरूमा समेत मौसम नियन्त्रण हरितगृहभित्र खेती विस्तार हु“दै अहिले यसको खेती कोठाभित्रै तखताको रुपमा विश्वव्यापी रुपमा शुरु भैरहेको ’हाइड्रोपोनिक खेती प्रणाली’ बाट यो विश्वभर वर्षैभरि बासिल बजारमा खरीदकर्ताहरूका लागि उपलव्ध हुन पुगेको छ ।
वर्तमान विश्वमा यस सम्बन्धी विभिन्न अनुसन्धान गरी जुनजुन मुलुकले यसको नया“ जातहरू विकसित गरेका छन्, ती मुलुकहरूले ब्राण्डको रुपमा आ–आफ्नो मुलुक जोडेर बासिलको नामाकरण गरेका छन् ।
यसमा सबैभन्दा अग्रणी इटालीले ’इटालियन स्वीट बासिल’ नामाकरण गरेको छ भने थाइल्याण्डले ’थाई बासिल’ भनी आफ्नो ब्राण्ड विश्वव्यापी बनाएको छ । अमेरिका र बेलायतले पनि अमेरिकन र लण्डन बासिल भनेर नामाकरण गरेका छन् ।
विश्वका विभिन्न मुलुकले आआफ्नो संस्कृति, मूल्य, मान्यताका आधारमा यसको विकास गरेका छन् । विशेष गरी एसियाका विभिन्न मुलुकमा हाल स्वीट बासिलको स्वादलाई विभिन्न खानाको परिकारहरूमा मिसाएर खानालाई झनै स्वादिष्ट बनाउने गरिएको छ ।
बासिलका अनेक प्रकार भए पनि यसलाई मूलतः इटालियन स्वीट बासिल, थाई बासिल, ब्रिटिश बासिल, अमेरिकन बासिल, जर्मन बासिल, लेमन बासिल, अफ्रिकन बासिल र होली बासिल (हिन्दूहरूले पूजा गर्ने तुलसी) का रुपमा विभिन्न एसियाली मुलुकहरूमा खानालाई स्वादिष्ट परिकार बनाउने क्रममा यसको प्रयोग गर्ने गरिएको छ ।
नेपाल र विश्वभर प्रख्यात रुपमा चलेको र ब्रान्डिङ भएको चाँहि इटालियन स्वीट बासिल नै हो ।
धार्मिक र औषधीय महत्वः
परापूर्वकालदेखि तुलसीको पात भगवानलाई चढाउन प्रयोग हुँदै आएको कुरा तपाईं हामीलाई थाहा भएकै कुरा हो । यसमा भारीमात्रामा औषधीय र क्षारीय गुण भएकाले तुलसीलाई विभिन्न प्रकारले प्रयोग गर्न सकिन्छ । सुजन वा जीवाणु नियन्त्रण गर्न, शरीरको छाला स्वच्छ र चम्किलो राख्न, खाना पचाउन, शरीर र कलेजोका विकारहरू हटाउन, मुटु स्वच्छ राख्न, शरीरको हड्डीलाई मजबुत राख्न तुलसीको शक्ति रामवाण मानिन्छ ।
यसले शरीरको तापक्रम बढाइदिने हुनाले तुलसीको पात, डाँठ, फल सबै महत्वपूर्ण मानिन्छ भने पात र फल सुगर तथा क्यान्सरका रोगीहरूलाई निकै महत्वपूर्ण ठानिन्छ । क्यान्सर रोगीले कालो तुलसी वा कृष्ण तुलसीको १०–११ पत्ता खानेगरेमा निकै फाइदा हुन्छ भन्ने भनाइ छ ।
नियमित तुलसीको सेवन गर्नाले भाइरल वा कुनै रोगले आक्रमण गर्न सक्तैन । तुलसीको ५ वटा पत्ता पानीमा बेसार र कालो नून हालेर पकाएर खाने गर्नाले खोकी निको हुन्छ ।
जीरापानीमा केही तुलसीको पत्ता पकाई मह हालेर खाएमा दम जस्तो रोग पनि निको हुन्छ । नाक बन्द भएको अवस्थामा तुलसी पानी उमालेर दुई चार थोपा नाकमा हाल्दा नाक खुली सञ्चो हुन्छ ।
शरीरका लागि यो निकै फाइदा हुन्छ भन्ने भनाइ छ । साथै विभिन्न रोगहरूलाई नियन्त्रण गर्न तुलसीको निकै महत्वपूर्ण योगदान छ । कुनै पनि वास्तु नमिलेको घरको चारै दिशामा तुलसीको बोट रोप्नाले कुनै पनि बाधा वा अवरोध हट्छ । बासिल नियमित सेवन गर्ने व्यक्तिको शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ भनिएको छ ।
संसारमा गरिएका विभिन्न अध्ययनहरूले भन्छन्, शरीरका कोषिकाहरूलाई क्षति पुग्यो भने त्यसबाट मानवलाई मुटुका समस्या, क्यान्सर, डाइबिटिज तथा बाथ रोगहरूले चाप्न सक्छ । त्यसैले समयमै यस्ता समस्याबाट बच्न नियमित रुपमा बासिलको सेवन गरौ“ ।
बासिलको बोटबारे केही तथ्यः
१. रोप्ने समयः सामान्यतया यो रोप्ने समय मे महिनादेखि अक्टोबर महिना अर्थात् बैशाखदेखि असोज महिनासम्म हो । सामान्यतया ६ महिना यसको खेती गर्न सकिन्छ । मंसिर महिनासम्म यसको उपज लिन सकिन्छ ।
२. बोटको उचाई वा लम्बाई ३० सेन्टिमिटर र चौडाई वा बोटको गोलाकार पनि ३० सेन्टिमिटरकै हाराहारीमा रहेको पाइन्छ ।
३. सुख्खा हावा छिर्ने बलौटे माटो यसको खेतीका लागि उपयुक्त
मानिन्छ ।
४. यसको बोटले ठ्याम्मै चिसो भने सहनै सक्दैन । त्यसैले यसलाई समथर जमीनमा रोप्न हुँदैन । पानी नजम्ने ड्याँग बनाई बेर्ना रोपेपछि आवश्यकता अनुसार सिँचाई गर्नुपर्दछ ।
५. रोपेको बेर्ना ह्वात्तै बढ्छ र जातअनुसारको तुलसीको जस्तै फूल देखिने बित्तिक्कै यसको बाली वा फसल लिने बेला भयो भन्ने संकेत दिएको मानिन्छ ।
अब तपाईहरू फूल देखिएको भागलाई सफा हात औँलाले वा यदि बिरुवा काट्ने कैँची छ भने त्यसलाई स्यानिटाइज गरी फूलको भाग चटक्क काटिदिनुहोस् । अब नरम मुण्टाको भागलाई दुईतिर नयाँ मुण्टा देखिएको भाग बचाई काटनुहोस् । त्यो दुईवटा नयाँ बाँकी भएको मुण्टा हप्तादिन भित्रै तयार भैसक्छ ।
त्यसलाई पनि त्यही प्रक्रिया प्रयोग गरी काटनुहोस् । दुईबाट चार, चारबाट आठ, आठबाट सोह्र र सोह्रबाट बत्तीस हुँदै एवं प्रकारले यसको बोट गोलाकार रुपमा आउन थाल्छ ।
जति काट्यो, उत्ति नै मुण्टा उत्पादन हुन्छ । मुण्टा नकाटीकन त्यतिकै रहन दिनुभयो भने बोट जिंगरिंग र नराम्रो देखिन थाल्छ । यदि बीउलाई काट्नु भएन भने यही बीउको कारण यसका पातमा भएका तैलीय पदार्थ घट्न थाल्छ । त्यो तैलीय पदार्थ भनेकै यसको क्षारीयतत्व हो । त्यो घट्नु भनेको यसको गुण नोक्सान हुनु हो भन्ने बुझ्नु पर्दछ ।
६. यो उन्नत जातको विरुवा भएको हु“दा यसको बीउ पनि त्यही अनुसार उत्पादन गरिएको हुन्छ । बीउ हाम्रो पूजा गर्ने तुलसीको जस्तै अलि ठूलो हुन्छ । बीउको एउटा फूल फुलेको प्वालमा ६ वटा गेडा हुन्छ ।
७. भान्छामा तयार हुने खाद्यान्नमा नियमित रुपमा प्रयोग भैरहने जडिबुटीको रुपमा यसलाई लिइने हु“दा यसको बिरुवालाई गमलामा रोपी घाम आउने भान्साको मोहडामा इन्डोर प्लान्टको रुपमा राख्ने गरिएको पाइन्छ । यस्तो वातावरण मिलाउन सकियो भने पूरै यसको खेती गर्ने ऋतुभर राम्ररी फसल उपयोग गर्न सकिन्छ ।
८. यसलाई विश्वभर खाने चलन आ–आफ्नै प्रकारले अंगीकार गरिएको पाइन्छ । तर सामान्यतया हामी नेपालीहरू आ-आफ्नो खाद्यवानी अनुसार यसलाई प्रयोग गर्न सक्छौं ।
यहाँ औल्याउन खोजेको कुरा के हो भने प्रायः नेपालीहरू जुनसुकै तरकारीको प्रयोगमा गोलभेँडा मिसाउन लालायित हुन्छौं भने ती ती परिकारमा बासिल प्रयोग गर्ने गर्नुहोस् ।
बासिलले खाना र तरकारीको स्वादमा व्यापक मिठासपन थप गर्दछ । चाउमिन, पास्ता, स्याण्डविच, भिजिटेबल सूप, मासुको परिकार, अण्डा, अण्डाकरी, पुलाउ, पाउरोटी स्न्याक्स आदि परिकारमा यसलाई प्रयोग गर्न सकिन्छ ।
९. बासिलको पत्ता वा पेष्ट खानामा हाल्दा धेरै तातोमा मिसाउनु हुँदैन । तातोले गर्दा यस्को स्वाद वा गन्ध उड्ने सम्भावना हुन्छ । यसलाई खाना खानुभन्दा अघि खानामा माथिपट्टि सर्र्र छर्नु पर्दछ ।
१०. बासिलको माथि उल्लेखित जादुगर विशेषताहरू बचाई सेवन वा प्रयोग गर्नु मानव स्वास्थ्यको लागि हितकर छ । भनाइको तात्पर्य यसको हरियो ताजा पत्ता नियमित प्रयोग गरी रोगप्रतिरोधात्मक क्षमता बृद्धि गर्नुहोस् ।
११. यदि यसको उत्पादन बढी भएको अवस्थामा मात्र यसको पेष्ट वा रसायन सुरक्षित गरी बढीमा ६ महिनासम्म विभिन्न खाना वा परिकारहरूमा मिसाई खान सकिन्छ । यस्तो पेष्टलाई हावा नछिर्ने बट्टामा बढीमा ६ महिनासम्म सुरक्षित राख्न सकिन्छ ।
पेष्ट बनाउने तरिका तल दिइएको छ । तलका सामग्रीहरू राखी ग्राइण्डर मेशिनमा ग्राइण्ड गर्ने अनि हावा नछिर्ने सिसी वा बट्टामा राख्ने र आवश्यकता अनुसार खानाको परिकारमा प्रयोग गर्ने ।
(क) भुटेको मदिसे बदाम
(ख) ताजा कागतीको रस
(ग) लसुनको पोटी
(घ) नून
(ङ) कालो मरिच
(च) स्टिलको दुई ठूलो गिलासमा कसिलो बासिलको मुण्टा
(छ) भर्जिन ओलिभ आयल
(ज) चीज
तुलसीमा निको पार्ने शक्तिहरूमा के के तत्वहरू छन् भन्ने वारेमा वैज्ञानिकहरूले विभिन्न अनुसन्धानहरू गरी पत्ता लगाएका छन् ।
तुलसीप्रति मेरो झुकावः
म सानैदेखि बिरुवाहरूसँग रमाउने प्रवृत्तिको थिएँ । ललितपुर वडा नं. २ झम्सीखेलस्थित हाम्रो घरमा सानो बगैँचा पनि थियो । बुबाले नै बगैँचामा विभिन्न जातका विरुवा रोप्न हामीलाई अभिप्रेरित गर्नु भएको
हो ।
त्यसबेला फूलका नर्सरीहरूको चलन त्यति नभएकाले विभिन्न घरहरूमा पूmलेका पूmलका बोटका साथै जडिबुटीका विरुवा मागेर घरमा ल्याई वा बिरुवाहरू साटासाट गरी रोप्ने चलन थियो ।
२०३० सालताका फूलका बोटबिरुवा साटासाट गर्ने प्रचलन व्यापक मात्रामा भएको मेरो अनुभव छ । तुलसीको महत्व बुझेर बुबाले प्रत्येक वर्ष निर्जला एकादशीको दिन तुलसीको बीउ राख्ने, हरिशयनी एकादशीको दिन तुलसी रोप्ने र बोधनी एकादशीको दिन तुलसीको विवाह गर्ने धार्मिक परम्परामा हामी सपरिवारलाई पोख्त बनाउनु भएको थियो ।
पछि पनि तुलसीलाई कसरी लामो समयसम्म बचाउन सकिन्छ भनेर विभिन्न प्रयासहरू गर्नुहुन्थ्यो बुबाले । यसरी बुबाबाट नै मेरो तुलसीप्रतिको झुकाव विस्तारै बढ्न थालेको थियो ।
समयको अन्तरालसँगै ललितपुर झम्सीखेल विस्तारै पर्यटकीय नगरीको रुपमा विकास हुन थालेदेखि यहा“ खुलेका नया“ नया“ होटल, रेष्टुराँ र बढ्दो घनावस्तीका कारण मानिसहरूले विस्तारै खाना र परिकारलाई स्वादिलो तथा मीठो बनाउन तुलसी प्रयोग गर्न थालेदेखि यसको माग ह्वात्तै बढ्न गएको हो ।
ललितपुर झम्सीखेलमा स्थापना भएको ब्रिटिश स्कूल र यहाँ अध्यापनका लागि विदेशका विभिन्न कुनाहरूबाट आउने शिक्षकहरू, संयुक्त राष्ट्रसंघको कार्यालय र त्यससँग सम्बन्धित निकायहरूका कर्मचारीहरू, विभिन्न देशका राजदूतावासहरू यस क्षेत्रमा हुनु र यस क्षेत्रमा बसोवास गर्ने विभिन्न विदेशीहरूको चापले गर्दा पनि बासिलको माग दिनपरदिन बढ्न गएको मेरो अनुभव छ ।
बासिलको धार्मिक, औषधीय र रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्ने महत्वलाई आत्मसात् गरी यस क्षेत्रमा यौटा सानै प्रयास स्वरुप केही गर्नै पर्छ भनी मैले वि.सं. २०७० को प्रारम्भमा बासिल होम नेपालको पकिल्पना गरी यसको सामान्य उत्पादन प्रारम्भ गर्ने प्रयास गरेको हु“ ।
यो अहिले एक दशकको अवधिमा पनि कायमै छ र अब यसको ब्राण्डिङ्ग गरी नेपाली नाम पिताको नामबाट ’डम्बर बासिल’ राख्ने योजना छ । विदेशबाट थरिथरिका हाइब्रिड जातको बासिलका बीउहरू झिकाई स्थानीय आवश्यकता र माग अनुसार सीमित मात्रामा यसका बेर्नाहरू तयार गरी बजारमा न्यूनतम मूल्यमा अनलाइन विक्री वितरण गर्ने गरिएको छ ।
ताजा पत्ता बढी उत्पादन भएको अवस्थामा घाममा सुकाई ’बासिल टी’ समेत नमूना उत्पादन परीक्षण गरिएको छ । ताजा हरियो पत्ता प्रतिकिलो १५०० सम्ममा र प्रति पोलिब्याग ६ इञ्चसम्मको बिरुवा रु. ५० मा बिक्री हुने व्यवस्था छ ।
विदेशीहरूले त यसको महत्व बुझी घरमै बिरुवा र हरियो पत्ता खरीद गर्न आउने गरेका छन् भने विस्तार विस्तार नेपालीले पनि यसको महत्व बुझी खाना वा परिकारमा प्रयोग गर्न थालेका छन् ।
यो प्रयोग गर्ने नेपालीको संख्या भने ज्यादै न्यून छ । नेपालमा जति पनि होटल वा रेष्टुँराहरू छन्, तिनीहरूले प्रयोग गर्ने बासिल विदेशबाटै आयात गरिने प्रारम्भिक अनुमान छ ।
नेपालका विभिन्न फलफूल नर्सरीहरूले पनि वार्षिक न्यूनतम मात्रामा मात्र यसको बेर्ना उत्पादन गरी सीमित मात्रामा बिक्री वितरण गर्ने गरिएको पाइन्छ । विभिन्न अग्र्यानिक हाटबजार र नियमित रुपमा सञ्चालन हुने साप्ताहिक कृषि बजारहरूमा बासिलको बेर्ना बिक्री वितरणको व्यवस्था गरिएको पाइन्छ ।
उच्च हाइब्रिड जातको एक सयवटासम्म बीउ भएको एक प्याकेट बीउको मूल्य ४ डलर र ४ पाउण्डसम्म पर्ने गर्दछ । यस्ता बीउहरू स्वदेशमा उपलव्ध छैनन् भने विदेशबाटै ल्याउनु पर्ने बाध्यता छ । हाल विश्वका विभिन्न मुलुकले सुकुमेल, ल्वांग, कागती, सुन्तला, ज्यामिर, दालचिनीको स्वादमा यसका बीउहरू उत्पादन गरी बिक्री वितरण गर्दै आएका छन् । (अग्रज पत्रकार बिष्ट मिडिया प्वाइन्टका कार्यक्रम निर्देशक हुन् । उनी वनस्पति विधामा कलम चलाउँछन् ।)