एन्फाको साधारण सभामा पूर्व अध्यक्ष गणेश थापालाई रोक, अदालतको आदेशको अपहेलना
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २६ शुक्रबार
691
Shares
धुलिखेल । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व अध्यक्ष गणेश थापामाथि साधारण सभामा सहभागी हुन रोक लगाएको छ । काभ्रेको धुलिखेलमा चलिरहेको एन्फाको साधारण सभामा सहभागी हुन थापालाई रोक लगाइएको हो ।
‘बुबा यहीँ धुलिखेलमा हुनुहुन्छ, भित्र प्रवेश गर्न दिइएको छैन, ’ उनका छोरा अभिषेकले भने, ‘अदालतको आदेश देखाउँदा पनि प्रवेश गर्न दिइएको छैन ।’
थापा आफ्ना समर्थकसहित धुलिखेलको साधारण सभामा भाग लिन पुगेका छन् । उनका अनुसार भित्र प्रवेश नदिएपछि पूर्व अध्यक्ष थापा सभास्थल बाहिर बसेका छन् ।
उनले भित्र जान पाउनु पर्ने पटक पटक माग गरिरहेका छन् । पाटन उच्च अदालतले उनलाई साधारण सभामा सहभागी हुन दिन आदेश गरेको थियो । थापाले अदालतको आदेशै बोकेर गए पनि एन्फाले उनलाई सहभागी हुनबाट वञ्चित गरेको हो ।
फिफाको १० वर्षे प्रतिबन्ध फुकुवा भएपछि उनी पहिलो पटक एन्फाको साधारण सभामा सहभागी हुन गएका हुन् । तर एन्फाको वर्तमान नेतृत्वले भने उनलाई सहभागी हुन दिएको छैन ।