arrow

महानगरका कर्मचारी र आफ्नै वडाका व्यवसायी कुट्ने वडाध्यक्ष पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
devkrishna-parajuli.jpg

पोखरा । पोखरा महानगरपालिकाका कर्मचारी र एक व्यवसायीमाथि कुटपिट गरेको आरोपमा पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । 

वडाध्यक्ष पराजुलीले मंगलबार पोखरा महानगरपालिकाका प्रशासन महाशाखाका सातौं तहका अधिकृत इश्वरी पोखरेल र पोखरा-४ सर्वेश्वर मार्गका व्यवसायी लेखनाथ सुवेदीमाथि हातपात गरेको आरोप छ । 

व्यवसायी सुवेदीले आफूमाथि कुटपिट भएको भन्दै वडाध्यक्ष पराजुलीविरुद्ध जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । 

उनलाई पोखरा-१६ ढिकिडाँडाबाट पक्राउ गरिएको उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थपेर अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । पराजुलीलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । 

पीडित सुवेदीले वडाध्यक्ष पराजुलीलाई कानून अनुसार कार्वाही गनुपर्ने माग गरेका छन् । 

वडाध्यक्ष पराजुली गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि पराजुलीले रक्सीले मातेर केही वर्ष अघि पोखरा-४ को वडा कार्यालयमा तोडफोडसमेत गरेका थिए । 

यसैबीच थोक व्यवसायी संघ कास्कीले व्यवसायी कुटपिट गर्ने वडाध्यक्ष पराजुलीमाथि कडा कार्वाही हुनुपर्ने माग गरेको छ । संघका महासचिव शम्भुनाथ योगीले एक विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन् । 

वडाध्यक्षजस्तो गरिमामय पदमा आशिन व्यक्तले असमान्य व्यवहार गरी आपराधिक व्यवहारले कानूनी शासन तथा व्यवसायीको अधिकारमाथि गम्भीर आघात पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ । घटनाको सत्य, तथ्य छानविन गरी दोषी उपर कडाभन्दा कडा कार्वाही गर्न संघले माग गरेको छ । 

यता, वडाध्यक्षले कर्मचारीमाथि आक्रमण प्रयास गरेपछि महानगरका कर्मचारीले काम बन्द गरेका छन । कर्मचारीले वडाध्यक्षमाथि कार्बाहीको माग गरेका छन् । कर्मचारीको सुरक्षा ज्ञारेण्टी नभएको भन्दै उनीहरुले काम ठप्प पारेका थिए ।

यसैबीच वडाध्यक्ष पराजुली, व्यवसायी र महानगरका कर्मचारी राखेर वार्ता गराउने प्रयास भइरहेको बताइएको छ । प्रहरीले पहिलो चरणमा वार्ता गरेर समस्या समाधान गर्ने प्रयास गरेको बताइन्छ ।

व्यवसायी र कर्मचारीले भने वार्ता र मेलमिलाप भन्दा पनि वडाध्यक्षमाथि कानून अनसारको कार्वाही हुनुपर्नेमा जोड दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ