arrow

शान्त विद्रोह

प्रदीप नेपालको अन्त्येष्टि

उनकै इच्छाअनुसार भएको अन्तिम संस्कार, नेता नेपालले यसअघि नै भनेका थिए – ‘मेरो शवमा झण्डा नओढाउनू, श्रद्धाञ्जली कार्यक्रम नराख्नू’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २३ मंगलबार
pradip-nepal-died-82-1-23-(.jpg

काठमाडौँ । नेकपा एमाले नेता एवं प्रगतिशील साहित्यकार प्रदीप नेपालको अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उनको पार्थिव शरीरलाई मंगलबार राति अन्त्येष्टि गरिएको हो । 

एमाले नेता प्रदीप नेपालको अन्तिम संस्कार सामान्य तरिकाले भएको छ । उनको इच्छाअनुसार नै उनको दाहसंस्कार सामान्य तरिकाले भएको हो । उनको दाहसंस्कार दाउराको माध्यमबाट जलाएर गरिएको भए त्यहाँ ठूलो भीड हुने थियो । तर त्यसलाईसमेत उनले पहिले नै शान्त तरिकाले गर्न भनेकाले परिवारले यसलाई अन्तिम इच्छाको रुपमा स्वीकार गरेको बताइएको छ । 

उनी साहित्यमा विद्रोही भए पनि राजनीतिमा भने शान्त स्वभावका थिए । तर राजनीतिको विद्रोह खुलेआम गर्दथे । उनी हार्न डराउँदैनथिए । उनी आफूले संन्यासको सीमा पनि आफैँले कोरेका थिए । 

७२ वर्षको उमेरमा निधन भएका उनले ६० वर्षपछि सक्रिय राजनीति नै त्यागेका थिए । उनै बोलीका पक्का प्रदीप नेपालको पार्थिव शरीर एमालेको कार्यालयमा लगिएन । नेता नेपालको इच्छापत्रअनुसार पार्टीको झन्डा ओढाइएन । श्रद्धाञ्जलीका लागि बाहिर कतै राएिन । 

उनलाई श्रद्धाञ्जली दिन एमाले नेता कार्यकर्ताहरु पशुपतिस्थित विद्युतीय शवदाहगृहमा पुगे । राति उनको अन्तिम संस्कार विद्युतीय शवदाहगृहमा गरियो । 

नेता नेपालले यसअघि नै भनेका थिए कि ‘मेरो शवमा झण्डा नओढाउनू, श्रद्धाञ्जली कार्यक्रम नराख्नू ।’ यसलाई कतिपयले शान्त विद्रोहको रुपमासमेत लिएका छन् । उनको पार्थिव शरीरमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राष्ट्रको झण्डा ओढाएका थिए ।

त्यसअघि उनीप्रति नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शङ्कर पोखरेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा मालेका महासचिव सिपी मैनाली, पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलगायतका नेता पशुपति पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।

एमाले पूर्वस्थायी समिति सदस्यसमेत रहेका नेपालप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले र एकीकृत समाजवादीका पदाधिकारी, सांसद, पूर्वमन्त्री, नेता तथा कार्यकर्ता, शुभेच्छु र आफन्तजन ठूलो सङ्ख्यामा पशुपति पुगेका थिए । 

लामो समयदेखि पार्किन्सनसम्बन्धी समस्या झेल्दै आएका उनी केही दिनअघि निमोनिया भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना भएका थिए । 

नेता नेपालको उपचारका क्रममा मंगलबार अपराह्न त्यहीँ निधन भएको हो । विसं २०१० पुस २७ गते भोजपुरको गोगनेमा जन्मिएका नेपाल राजनीतिज्ञ र साहित्यकार मात्र नभई स्तम्भकार, लेखक र पत्रकारका रूपमा समेत परिचित थिए । उनले छलफल, दृष्टि, प्रकाश साप्ताहिको सम्पादन गर्नुका साथै ती पत्रिकाको नियमित स्तम्भकार समेत थिए । 

उनका कथाभित्रका ‘नारी अनुहार’, ‘परोपकार यात्रा’, ‘बेचिएका चेलीहरू’ र ‘सूर्यमान’ शीर्षका कथा सङ्ग्रहका अतिरिक्त ‘खुइते कडेरिया’, ‘पार्टीकी आमा’, ‘पूर्वतिर’, ‘नओइलाउने फूल’, ‘देउमाइकको किनार मुक्ति’, ‘एक्काइसौँ शताब्दीको सुम्निमा’, ‘नन्दीताल’गायतका उपन्यास प्रकाशित छन् ।

यसरी सम्झिइयो पूर्वमन्त्री नेता नेपालाई

नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं वामपन्थी नेता वामदेव गौतमले नेपाली राजनीतिमा स्व नेपाललाई एमाले नेताभन्दा अघि ‘कोर्डिनेशन’ केन्द्र झापा सङ्घर्षको योद्धा र पार्टी निर्माणकर्ताका रूपमा सदासर्वदा स्मरण भइरहने प्रतिक्रिया दिए । 

उनले भने, “उहाँले प्रारम्भिककालमा पार्टीको सङ्गठन विस्तारमा ज्यादै ठूलो भूमिका निर्वाह गर्नुभएको छ । कम्युनिष्ट पार्टीको सफल नेता र योद्धा हुनुहुन्थ्यो । पार्टीले दिइएको जस्तोसुकै जिम्मेवारी पूरा गर्न निरन्तर लागि पर्ने सफल नेता हुनुहुन्थ्यो ।”

नेकपा एमालेका नेता डा राजन भट्टराईले नेपालको कम्युनिष्ट आन्दोलनमा स्व नेपालको ठूलो योगदान रहेको बताए । उनले भने, “उहाँले नेकपाको कोर्डिनेशनकालदेखि नै निरन्तररूपमा प्रगतिशील आन्दोलनमा वैचारिकरूपमा स्पष्ट, जुझारू र सक्रियतापूर्वक आफ्नो भूमिका निर्वाह गर्नुभयो ।”

नेता नेपाल बहुआयामिक व्यक्तित्व भएकाले युवाका लागि ठूलो प्रेरणाका स्रोतका रूपमा रहनुभएको बताउँदै डा भट्टराईले चुनौतीपूर्ण कार्यलाई आँटका साथ लिने र लिएको काम फत्ते गरेर मात्र छोड्ने साहसिक नेताको व्यक्तित्व बनाउएको बताए । 

विसं २०३३ मा नख्खुजेल तोडेर निस्किएका नेता नेपाल विसं २०४६ सम्म पार्टीमा भूमिगत जीवन बिताए । जतिसुकै प्रतिकूल अवस्थामा पनि धैर्यतापूर्वक त्यसलाई संयोजन गरेर लैजाने उनमा क्षमता रहेको उनका सहकर्मीहरू बताउँछन् ।

सरकारमा रहँदा उहाँनले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने क्रममा केही न केही नयाँ काम सुरू गर्ने र नयाँपनको थिति बसाउने कार्य गरेको डा भट्टराई बताउँछन् । 

pradip-nepal-died-82-1-23 (1).jpeg
pradip-nepal-died-82-1-23 (1).jpg
pradip-nepal-died-82-1-23 (2).jpeg
pradip-nepal-died-82-1-23 (2).jpg
pradip-nepal-died-82-1-23 (3).jpeg
pradip-nepal-died-82-1-23 (3).jpg
pradip-nepal-died-82-1-23 (4).jpeg
pradip-nepal-died-82-1-23 (4).jpg
pradip-nepal-died-82-1-23 (5).jpeg
pradip-nepal-died-82-1-23 (5).jpg
pradip-nepal-died-82-1-23 (6).jpg
pradip-nepal-died-82-1-23 (7).jpg
pradip-nepal-died-82-1-23 (8).jpg
pradip-nepal-died-82-1-23 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ