बलिउडकै सबैभन्दा महँगी महिला कलाकार बनिन् श्रद्दा कपूर
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
794
Shares
मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो पटक ‘स्त्री २’ मा देखिएकी थिइन् । यो फिल्मले कीर्तिमानी कमाई गरेको थियो । त्यसैले पनि अब सबै निर्माताहरू आफ्नो फिल्ममा श्रद्धा कपूरलाई कास्ट गर्न चाहन्छन् ।
हालै एकता कपूरले श्रद्धा कपूरलाई आफ्नो एउटा फिल्ममा कास्ट गरेको खबर आएको थियो । यो फिल्मका लागि श्रद्धा कपूरले आफ्नो पारिश्रमिक बढाएको पनि बताइएको छ ।
बलिउड हंगामाको रिपोर्ट अनुसार श्रद्धाले एकताको यो फिल्मको लागि १७ करोड भारु पारिश्रमिक लिएकी छिन् । पारिश्रमिक बाहेक नायिकाले सम्झौतामा नाफाको अंश पनि मागेकी छिन् ।
जसअनुसार उनले फिल्म रिलिजपछि केही प्रतिशत नाफा पनि पाउने छिन् । यो भारतीय सिनेमामा महिला कलाकारले लिएको सबैभन्दा धेरै पारिश्रमिक हो।
तर फिल्मको नाम भने अझै सार्वजनिक गरिएको छैन । यो चलचित्र हाल प्रि–प्रोडक्सन चरणमा छ र यो वर्षको मध्यबाट सुटिङमा जाने पक्कापक्की भएको छ ।
रिपोर्टका अनुसार श्रद्धाले खासमा ‘स्त्री २’का लागि ५ करोड भारु लिएकी थिइन् । अब श्रद्धाले आफ्नो पारिश्रमिक एकैपटक १२ करोड बढाएर १७ करोड रुपैयाँ पुर्याएकी हुन् ।
स्त्री २ पछि यो श्रद्धा कपूरको ठूलो प्रोजेक्ट हो । श्रद्धा कपूरले स्त्रीः ३ मा पनि काम गर्ने भएकी छिन् । यो हरर कमेडी अगस्त २०२७ मा रिलिज हुने बताइएको छ।
श्रद्धाले आफ्नो करिअर तीन पत्तीबाट डेब्यु गरेकी थिइन् । त्यसपछि उनी ‘लभ का द एन्ड’ मा देखिएकी थिइन् । उनले आशिकी २, गोरी तेरे प्यार मे, एक भिलेन, हैदर, उंगली, एबीसीडी २, बागी, फ्लाइङ जट, रक अन २, हाफ गर्लफ्रेन्ड, साहो, छिछोरे, बागी ३, तुम झुट मै मक्कार जस्ता फिल्म गरिसकेका छिन् ।