जीवाको ‘अक्षत अन्टार्कटिका’ लाई उत्तम शान्ति पुरस्कार
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २१ आइतबार
814
Shares
काठमाडौँ । जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका’ ले उत्तम शान्ति पुरस्कार पाउने भएको छ । ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ले दिँदै आएको एक लाख रुपैयाँ पुरस्कार राशिको उक्त पुरस्कार विसं २०८१ का लागि अक्षत अन्टार्कटिकाले पाउने भएको हो ।
गुठीका अध्यक्ष डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको पुरस्कार चयन समितिले ‘नवीन सोच, रोचक शिल्प र नयाँ शैलीसहित अन्टार्कटिका जस्तो दुरुह हिमप्रदेशको रोमान्चक यात्रावृतान्त मार्फत् पर्यावरणजस्तो अहिलेको विश्वको सबैभन्दा सरोकारको विषयलाई सशक्तताका साथ बहसको विषय बनाउन सफल भएको भन्दै लामिछानेलाई पुरस्कृत गर्ने जनाएको हो ।
वर्षभरि प्रकाशित निबन्ध, संस्मरण, जीवनी, आत्मकथा लगायतका आख्यानमुक्त गद्य विधामा रचना गरिएका गैरआख्यानात्मक कृतिमध्ये एक उत्कृष्ट कृतिलाई ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’ले विक्रम सम्वत् २०४४ सालदेखि १ लाख राशीको ‘उत्तमशान्ति पुरस्कार’ समर्पित गर्दै आइरहेको छ ।
‘स्रष्टा र साहित्य’ नामक अन्तर्वार्ता कृतिका लागि २०२३ सालमा मदन पुरस्कार प्राप्त गरेका ‘रुपरेखा’का सम्पादक तथा निबन्धकार उत्तम कुँवरको २०३९ सालमा ४३ वर्षको उमेरमै निधन भएपछि उनको स्मृतिमा उनकी पत्नी शान्ति कुँवरले यो पुरस्कारको स्थापना गरेकी हुन् ।
उनको पनि देहावसान भएपछि यस पुरस्कारलाई ‘उत्तम पुरस्कार’लाई ‘उत्तमशान्ति पुरस्कार’ भनेर पुनर्नामाकरण गरिएको हो ।
विगतमा यस पुरस्कारबाट मन्जुल, सत्यमोहन जोशी, अम्बर गुरुङ, देवीचन्द्र श्रेष्ठ, दुर्गा घिमिरे, इल्या भट्टराई, सरुभक्त, भुपिन, शारदा शर्मा, जगदीश घिमिरे, कर्ण शाक्य, भैरबबहादुर थापा, झमक घिमिरे, रवीन्द्र समीर, परशु प्रधान, देवेन्द्र भटटराई, गिरीश गिरी, टुकराज मिश्र, कृष्णचन्द्रसिंह प्रधान, निर्मोही व्यास लगायतले यो पुरस्कार प्राप्त गरिसकेका छन् ।