पश्चिमी र स्थानीय वायुको प्रभाव: पहाडी भेगमा वर्षा, तराईमा हुरीको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १७ बुधबार
704
Shares
काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना छ। महाशाखाका अनुसार पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ। लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा भने हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।
त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सफा रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।