चिकित्सक आन्दोलित हुँदा बिरामीको बिचल्ली [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
647
Shares
काठमाडौँ । चिकित्सकको आन्दोलनका कारण बिरामीहरु बिचल्लीमा परेका छन् । सोमबार महाराजगन्जस्थित टिचिङ अस्पताल पुग्दा बिरामीहरुको बिचल्ली देखिएको छ ।
आवासीय चिकित्सकहरुले अस्पतालमा ओपिडी सेवा ठप्प पार्दा अस्पताल आएका बिरामी मर्कामा परेका हुन् । सरकारीसरह निर्वाह भत्ता पाउनुपर्ने माग गर्दै २३ दिनदेखि आन्दोलनरत निजी मेडिकल कलेजका चिकित्सकका कारण बिरामी मारमा परेका हुन् ।
उनीहरुको आन्दोलनमा सरकारी चिकित्सकहरुले पनि ऐक्यबद्धता जनाएका छन् । आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवाहरु प्रभावित बन्न पुगेका हुन् ।
टिचिङमात्र हैन काठमाडौँको वीर अस्पताल, कान्ति बाल अस्पताल लगायतका अस्पतालमा बिरामीको बिचल्ली भएको हो ।
नेपाल चिकित्सक सङ्घले विज्ञप्ति जारी गर्दै सेवा ठप्प पार्न सबै निजी तथा सरकारी अस्पताल, क्लिनिक, मेडिकल कलेज र प्रतिष्ठानहरुका निर्देशक, चिकित्सकहरुलाई आह्वान गरेको थियो । जसका कारण सरकारी अस्पतालमा शुक्रबारदेखि ओपीडी सेवा प्रभावित बन्न पुगेको हो ।
चिकित्सा शिक्षा आयोगको १६औँ बैठकको निर्णयअनुसार आवासीय चिकित्सकहरुले हालसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको भन्दै निर्णय कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुको भनाइ छ ।
उपत्यकाभित्रका चिकित्सकहरु दैनिक माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् । चिकित्सक सङ्घको आह्वानले देशभरका सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले पनि आन्दोलनमा साथ दिएका छन् ।
उपचार सेवा नपाउँदा सर्वसाधारणमा पर्न जाने असुविधाप्रति चिकित्सक सङ्घले क्षमा माग्दै सोको जिम्मेवारी स्वयं सरकारले लिनुपर्ने चेतावनी दिएको छ ।
यता निर्वाह भत्ता नदिने निजी कलेज सञ्चालकहरूको अटेरीविरुद्ध पोस्ट ग्राजुएट (पीजी) तहका आवासीय चिकित्सहरूले प्रदर्शन गरिरहेका हुन् । चिकित्सा शिक्षा आयोगले तय गरेको आठौं तह (४८ हजार रुपैयाँ मासिक) को भत्ता दिनुपर्ने उनीहरुले माग राखेका छन् ।