arrow

दीगो अर्थतन्त्र बनाउने नीति लिन आवश्यक छ – परिसंघ कावा अध्यक्ष पाण्डे

logo
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १५ सोमबार
birendraraj-pandey-parisang.jpg

काठमाडौँ । नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रराज पाण्डेले आन्तरिक अर्थतन्त्र बलियो नभएसम्म, स्वदेशी उद्योगहरुको विकास नभएसम्म, स्वदेशी उद्योगहरुलाई प्रबद्र्धन गर्ने र संरक्षण गर्ने नीति नभएसम्म अर्थतन्त्र दीगो हुन नसक्ने बताएका छन् ।

नेपाली कांग्रेसले आयोजना गरेको छलफल तथा अन्तरक्रियामा उनले स्थिर नीति, लगानी प्रबद्र्धन गर्ने नीति, विदेशी लगानीकर्तालाई समेत नेपालमा लगानी गरौँ बनाउने नीति लिन आवश्यक रहेकोमा जोड  दिए । 

विश्व व्यापारको प्रतिस्पर्धामा रहेको बेलामा नेपालले पनि सोही दृष्टिकोण राखेर अगाडि बढ्न आवश्यक रहेकोमा उनले जोड दिए । 

पाण्डेले हाम्रा नीति राजश्वमुखी भन्दा उत्पादनमुखी हुनुपर्ने बताए । “उत्पादनमा आधारित नीति दीर्घकालिन हुन्छ । हाम्रा नीति आन्तरिक उत्पादनलाई भन्दा व्यापारलाई सहज गर्ने खालको हुँदा वैदेशिक व्यापार घट्दा राजश्वमा चाप पर्ने, बैदेशिक व्यापार बढ्दा राजश्व पनि बढ्ने देखिएको छ । त्यसैले हाम्रो ध्यान उत्पादन बढाउनेतर्फ नै हुनुपर्छ भन्नेमा नेपाल उद्योग परिसंघले जोड दिदै आएको छ” उनले भने । 

स्वदेशी उद्योग तथा सरकारका लागि पनि चोरी पैठारी नियन्त्रण अतिआवश्यक रहेको उनले बताए । भारतबाट नेपालतर्फ हुने अवैध पैठारीको कारण नेपालमा भएको १३ प्रतिशत मूल्य अभिवृद्धिले वस्तु महँगो हुनु पनि एक रहेको उनले बताए । 

उनले भने, “भारतमा सोही वस्तुमा ५ प्रतिशत मात्र कर लाग्ने र नेपालमा १३ प्रतिशत कर लाग्ने भएकोले सो मूल्य अन्तरका कारण भारतबाट नेपालतर्फ अवैध रुपमा व्यापारको प्रवाह भइरहेको छ । नेपालले बहुदरको मुअ कर लगाइ भारत समान करको दर बनाउँदा वस्तुको मूल्य समान हुन गई अनधिकृत व्यापारको प्रवाहमा कमी आउनेछ । त्यसैले हामी बहुदर भ्याट प्रणाली अबलम्बन गर्न आवश्यक छ ।” 

उनले आयात गरिनु अगाडि नै भन्सार विन्दुमै लेबलिंग गर्नुपर्ने व्यवस्था गर्न आग्रह गरे ।

परिसंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका पाण्डेले लगानी आकर्षित गर्न एवं तीव्र आर्थिक विकासका लागि आयकर ऐनको दफा ५७ र ९५ (क) ले गरेको दोहोरो कर लाग्ने प्रावधानमा सुधार गर्न आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ