देशमा स्थानीय र पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
690
Shares
काठमाडौं । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भू-भागमा भने मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। मौसमविद्का अनुसार हाल देशमा मुख्यतया स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसका साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ।
आज राति कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।