arrow

मधेसमा व्यापक तस्करी, नैतिक दबाबमा सशस्त्रका डीआईजी धौबजी

logo
दीपेन्द्र चौहान, 
प्रकाशित २०८२ वैशाख ५ शुक्रबार
kalidas-dhaubaji-dig-apf.jpg

वीरगञ्ज । मधेस प्रदेशमा व्यापक तस्करी भएको पाइएको छ । मधेसका आठवटै जिल्लामा तस्करी भइरहेको हो । तस्करी निरन्तर भएसँगै सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी कालिदास श्रेष्ठ धौबजीमाथि नैतिक दबाब परेको छ । 

हुनत सुरक्षाको मामलामा सशस्त्रमात्र छैन । नेपाल प्रहरीको पनि आफ्नै संरचना छ । नेपाली सेनाको पनि आफ्नै संरचना छ । तर सीमाको विषय उठ्नासाथ सशस्त्र प्रहरी नैतिक दबाबमा पर्छ नै । 

सशस्त्रको असुली आतंक पनि उत्तिकै रहेको व्यवसायीसमेत बताउँछन् । मधेस पहिलेदेखि नै तस्करीमा पहिलेदेखि नै एक नम्बरमा आउँछ । तस्करी कम नहुँदा स्वभावतः अहिलेका प्रमुख धौबजीमाथि निशाना पर्नु स्वभाविकै हो । 

पहिले घुमुवा खटाएर असुली गर्दा पोल खुल्ने डरले अहिले सिधै डिल हुने गरेको आरोपसमेत डीआईजी धौबजीमाथि लगाउने गरिएको छ । 

मधेस प्रदेशमा रहेका भन्सार कार्यालयहरूले लक्ष्यअनुसार राजस्व असूली गर्न नसकेको भए पनि प्रहरी प्रशासनको नजराना असुलीमा कुनै किसिमको कमी नआएकोसमेत बताइन्छ । 

कहाँ कहाँ भइरहेछ तस्करी ?
 विभिन्न स्रोत (सुरक्षाा, व्यापारी र स्थानीय) हरुका अनुसार अहिले मधेस प्रदेशको आठ वटै जिल्लाबाट व्यापक तस्करी भइरहेको छ । सप्तरीको सखडा, तिलाठी, पातो, छुटकी, हनुमाननगर, साठी र तिलाठी नाका हुँदै दैनिक तस्करी भइरहेको छ । 

यसैगरी सिराहाको माडर, ठान्डी, वियापट्टी, झाँझपट्टी र सुखीपुर, जनकपुरको जटही, फुलगाउँ, हर्नेहरनही, मुखीयापट्टी, खजुरी इलाकाबाट व्यापक मदिरा, काजु, कपडा, मोटरपार्ट्स र किराना आइटमको तस्करी भइरहेको छ ।

महोत्तरी जिल्लाको सम्सी, मटिहानी, रामगोपालपुर, इटहरवा, पोखरभिण्डा, धिरापुर, रघुनाथपुर र सर्लाहीको त्रिभुवननगर, गोरखकाली, मधुबनगोठ, बलरा र मधुबन भन्सार भएर व्यापक तस्करी भइरहेको छ।

रौतहट जिल्लाको भारतको बिहार राज्यसँग लगभग ३२ किलोमिटर भूभाग जोडिएको र यहाँ पाँच ओटा सशस्त्र प्रहरीको बेश क्याम्प रहे पनि द्रूत गतिमा तस्करी भइरहेको प्रत्यक्षदर्शी स्थानीय बताउँछन् ।

गौर नगरपालिकाका मेयर शम्भु साहको प्रत्यक्ष संलग्नतामा मुख्य भन्सारबाट कपडा तस्करीको अलावा बंकुल, महादेवपट्टी, जयनगर, रामपुरखाप, बञ्जाराहा, औरैया, मठिया र नरकटिया नाका तस्करहरूका लागि स्वर्गभूमि बनेको दाबीसमेत उनीहरुको छ । यस नाकाबाट कुखुराको चल्ला, किराना आइटम र कपडाको भरपुर तस्करी बढेको छ।

बारा जिल्लाका छतवा, बरैनिया, कवहीगोठ, मुशहरवा, पथलवाघाट र बलरामपुर नाकाबाट भैंसी, कुखुराको चल्ला, कपडा, खैनीको तस्करी भइरहेको छ। सोहन यादव, चन्दन यादव, सरोज श्रीवास्तव, खेना लगायत तस्करहरूको लाइन निर्वाध रूपमा चलिरहेको दाबी सुरक्षा स्रोतको छ ।

यसैगरी पर्साको भकुवा, अलौ, अमरपट्टी, जानकीटोला, भिखमपुर नाकाबाट भैँसी, चाइनिज स्याउ, खसी बोका, कपडा, काजु र कोस्मेटिक सामानको तस्करी बढेको छ । 

सुरक्षा स्रोत नै भन्छ, 'अनिल, विवेक, मुख्तार, तमन्ना, राजु, हरदेव, सुवास तिवारी, सन्दीप चौरसिया, संजय रौनियार र मुन्नाले पर्सा जिल्लाका विभिन्न नाकाबाट सामान ओसारपसार गर्ने लाइन चलाइरहेका छन् ।'

गत मंसिर १६ गते सिराहाको बडहरी बेश क्याम्पमा कार्यरत सई लक्ष्मणप्रसाद यादवलाई सीमा नाका नजिक कचनारीमा मदिरा तस्करहरूले मोटर शरीरमा चढाएर किचेर हत्या गरेको खबर बाहिर आए पनि हेडक्वार्टरले तानेर डीआईजी धौबजी बिना कारबाही फिर्ता पठाएको थियो । 

मधेस बदनाम छ तर मैले सफा गर्ने काम गरिरहेको छु – डीआईजी धौबजी 
डीआईजी धौबजीले भने मधेस प्रदेश पहिलेदेखि नै तस्करीमा बदनाम भए पनि आफूले सफा गर्ने काम गरिरहेको दाबी गरेका छन् । उनले भने, 'यहाँ त हुनै सक्दैन । हुनै दिँदिन । अलिअलि चोरी गरेको रहेछ भने तीन चार दिन बिदा गएर आएको थिएँ । केही भएको रहेछ भने म छोड्दिन म त्यही काममा लागिरहेको छु ।'

उनले तस्करी नभएको ग्यारेन्टी दिन नसके पनि भएको थाहा पाउना साथ कारबाही गरिरहेको बताए । उनले भने, 'तस्करीको विरासत नै बोकेर गएका मान्छे छन् यहाँ । कतै खबर त्यस्तो छ भने पाउँ । प्रमाण पुग्ने खालको छ भने त गज्जबै भो नत्र सूचनामात्र भए पनि के गर्नु पर्छ म कारबाही गर्छु ।'

उनले तपाईंकै नाम जोडिएर आयो नि भन्ने प्रश्न सोध्दा हाँसेर भने, 'त्यो भन्दा फेक त अरु हुनै सक्दैन । म यसमा सहभागी हुनु त परको कुरा मेरो मान्छे यसमा इन्भल्भ भएको भेटेपछि मैले छोडेको पनि छैन । चाहे एसपी होस् चाहे डीएसपी होस् ।'

विभिन्न जिल्लाका प्रमुखहरुलाई सतर्क गराएको बताए । उनले भने, 'अस्ति बारामा पनि अन्तिम पटक भनेर सतर्क गराएको छु । त्यहाँ पनि त्यस्तै कुरा आएको छ । आज पनि मैले डीएसपीलाई तानेको छु । गौरको डीएसपी नै तानेको हुँ । कसैले सूचना दिनासाथ म तस्करलाई पनि छाडेको छैन र हाम्रै केटाहरुलाई पनि कारबाही गरेको छु ।'

उनले आफूले कडाइ गरेको भएर कसैलाई रीस उठेर आफूविरुद्ध कोही लागेको हुनसक्ने बताए । उनले चुनौती दिँदै भने, 'म सहभागी भएको प्रमाणित गरे म पुरस्कारै दिने भएँ । मैले आफ्नो पदबाट राजीनामा नै दिन्छु नैतिकताका आधारमा ।'

उनले अगाडि भने, 'तस्करी नगराउनका लागि म यति लागेको छु कि म आफ्नो व्यक्तिगत कुराहरुसमेत त्याग गरेर घरमा आमाबुबालाईसमेत राम्रोसँग हेरचाह गर्न छाडेर नै गरिरहेको छु । म यहाँ इज्जत कमाउन आएको हुँ । कुनै बेइज्जत खप्न आएको हैन ।'

डीआईजी धौबजीले सशस्त्रले नियन्त्रणमा लिएका अवैध सामग्रीको तथ्याङ्कसमेत उपलब्ध गराएका छन् । तथ्याङ्कले पनि उनको सफलता भने देखिन्छ ।

 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ