काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष एवं पूर्व राष्ट्रिय फुटबल खेलाडी गणेश थापाको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको प्रतिबन्ध समाप्त भएको छ ।
फिफाले सन् २०१५ को १६ अप्रिलमा थापालाई १० वर्षे प्रतिबन्ध लगाएको थियो । एन्फाका तत्कालीन केही पदाधिकारीले थापाले घोटाला गरेको प्रतिवेदन फिफामा पठाएसँगै फिफाले अनुसन्धान गरी १० वर्षे प्रतिबन्ध लगाएको थियो ।
फिफाले प्रतिबन्ध लगाएको भए पनि अन्य कुनै निकायले भने उनलाई कुनै किसिमको प्रतिबन्ध लगाएको थिएन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत उनको बारेमा छानबिन गरे पनि कुनै प्रमाण नभेटिएको भन्दै मुद्दालाई मुल्तबीमा राखेको थियो ।
यता थापाले आफूलाई यो दश वर्षको अवधिमा निकै नै तनाब दिइएको बताउँदै आएका छन् ।
आफूले नगरेको गल्तीको सजाय आफूले भोगेको भन्दै उनले जोसुकैले उठाएको प्रश्नमा कहिल्यै पछि नहट्ने भन्दै आफूलाई गल्ती प्रमाणित गरेर देखाउन चुनौती दिएका थिए ।
उनले पटक पटक आफूमाथि मानसिक दबाब दिइएको बताउँदै आएका छन् ।
आफ्नो दश वर्षे प्रतिबन्ध हटेकोबारे प्रेस विज्ञप्ति निकालेर जानकारी दिँदै उनले दश वर्षे अवधि निकै कठिन भएको बताएका छन् ।
उनले भनेका छन्, ‘कठिन दश वर्षे अवधि पश्चात् मेरो फुटबल सम्बन्धित सबै गतिविधिबाट भएको निलम्बन अब समाप्त भएको छ । यो यात्रा चुनौतीपूर्ण थियो । तर यस अवधिमा मेरो परिवार, साथीहरु, शुभचिन्तकहरु र समस्त फुटबलप्रेमीहरुले गर्नुभएको सहयोग र अटल समर्थनको लागि म धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु ।’
उनले नेपाली फुटबलको विकास र विस्तारमा आफ्नो साथ र सहयोग सधै रहने पनि बताएका छन् ।
दुई दशक एन्फाको नेतृत्व सम्हालेका उनी खेलाडी जीवनमा पनि चर्चित थिए । थापाको नाममा पहिलो ह्याट्रिक गोलको कीर्तिमान छ ।
उनको नेतृत्वका पालामा नेपाली खेलाडीले अपार्टमेन्ट र गाडी पाएका थिए ।
थापाले एसियाली फुटबल महासंघ (एएफसी) को उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ (साफ) को अध्यक्ष, एएफसी च्यालेन्ज कप र प्रेसिडेन्ट्स कपको अध्यक्ष तथा फिफाका विभिन्न समितिमा रहेर काम गरेका थिए ।