व्यापार व्यवसाय तथा वैदेशिक क्षेत्रबाट राम्रो लाभ, अध्ययन अध्यापनमा सफलता
ज्यो हरि पन्त,
प्रकाशित २०८२ वैशाख १ सोमबार
768
Shares
धनु राशिका लागि यो वर्ष मध्यम रहेको छ । वृहस्पति र राहुको गोचर शुभ फलदायी रहनाले व्यापार व्यवसाय तथा वैदेशिक क्षेत्रबाट राम्रो लाभ लिन सकिन्छ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ ।
कामको खोजीमा रहेका व्यक्तिहरुले काम प्राप्त गर्न सक्छन् भने विवाह गर्न चाहने व्यक्तिहरुको यो समयमा विवाह हुन सक्छ । अढैया शनि तथा गोचरको शनि र केतुको अशुभ प्रभावले अकस्मात् स्वास्थ्य सम्बन्धित समस्या आउन सक्ने, छाती दुख्ने, साथीबाट विश्वासघात हुने, काममा रोकावट आउने समय रहेकाले सतर्क रहनुपर्छ ।
यो वर्ष महिनाका दृष्टिले जेठ, असोज, कार्तिक र फाल्गुन महिना शुभ छन् । त्यस्तै साउन, मङ्सिर र चैत महिना अशुभ छन् भने अन्य महिना मध्यम रहेका छन् ।
वैशाखः आर्थिक संकट जेठः शत्रुनाश असारः लामो यात्रा साउनः स्वास्थ्य कमजोर हुने र चिन्ता भदौः मानहानि हुने असोजः कार्यसिद्धि धनलाभ कार्तिकः श्रीप्राप्ति मङ्सिरः हानि नोक्सानी बढ्ने, सम्बन्धमा समस्या पुसः स्थान परिवर्तन माघः स्वास्थ्य समस्या फागुनः अधुरा काम पूरा हुने चैतः पारिवारिक समस्याले सताउने
कर्मक्षेत्र–जागिर: धनु राशिका लागि नयाँ वर्ष वि.सं. २०८२ साल उन्नत रहनेछ । बौद्धिक क्षेत्रमा विशेष संलग्नता रहने देखिन्छ । कार्यक्षेत्रकमो प्रतिस्पर्धामा निरन्तर लागि पर्नु नै उचित हुने देखिन्छ । जागिरका नयाँ अवसर प्राप्त हुनुका साथै कार्यरत व्यक्तिका निम्ति पदोन्नतिका योग पनि देखिन्छन्। अढैया शनिको प्रभाव रहने भएकाले कार्यक्षेत्रमा यत्नपश्चात् मात्र प्रतिफल प्राप्त हुने देखिन्छ । चित्तलाई स्थिर बनाइ गरिएका कार्य फलदायी रहनेछन् ।
आर्थिकः आर्थिक स्थिति मिश्रित रहनेछ। शुरुका महिना केही उत्तारचढाव भए तापनि बीचमा आर्थिक सुधार आउनेछ। विभिन्न लगानी र व्यापारमा अवसर प्राप्त हुनेछन्, तर निश्चित जोखिमहरू पनि रहनेछन्। यथासम्भव सजग र विवेकपूर्ण निर्णय लिनु महत्त्वपूर्ण हुनेछ । सम्पत्ति र गृह निर्माणको लागि केही अवसर आउन सक्छ। तपाईले केही दीर्घकालीन लगानी गर्न सक्नुहुन्छ। अनावश्यक खर्चबाट बच्नु पर्नेछ, विशेषगरी मानसिक र तनावको कारण खर्च बढ्न सक्छ ।
यात्राः वैदेशिक क्षेत्रका साथै यात्राका दृष्टिले यो वर्ष उन्नत रहनेछ ।
व्यवसाय र भविष्यः नोकरी र व्यवसायमा वर्षको मध्यतिर अस्थिरता आउन सक्छ। स्थान परिवर्तनको सम्भावना देखिन्छ । परिश्रमपूर्वक गरिएका कार्य सफल रहनेछन् । जनसम्पर्क र सामाजिक सञ्जालमा तपाईंको छवि सुदृढ हुने समय हुनेछ । राजनीतिक क्षेत्रका लागि भने, केही समय चुनौतीपूर्ण हुन सक्छ । सहकर्मीहरूको समर्थन र प्रयासले तपाईंलाई कठिनाइहरू पार गर्न सहयोग पुर्याउनेछ ।
स्वास्थ्यः स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । खानपान र नियमित व्यायाममा ध्यान दिनु आवश्यक हुनेछ । सामाजिक जीवनमा समय बिताउन र परिवारसँग राम्रो सम्बन्ध राख्न सकिन्छ । वैवाहिक जीवनमा केही तर्कवितर्क र समस्या आउन सक्छ, तर विश्वास र समझदारीको साथ तपाईं यी समस्यालाई हल गर्न सक्नुहुन्छ । सन्तानसँगको सम्बन्धमा सुधार आउने छ । यो वर्षका ज्येष्ठ, आश्विन, कार्तिक र फाल्गुन महिनामा गरेका प्रयासहरू सकारात्मक नतिजा दिन सक्नेछन् ।
उपायः अढैया शनिको प्रभाव वर्षभरि नै रहने भएकाले शनिको मन्त्र जप, भगवान् शिवको आराधना, शनिमृत्युञ्जयको पाठ यो वर्ष सुखद् रहने देखिन्छ । गायत्रीको मन्त्रजपका साथै योगाभ्यासले स्वास्थयमा सकारात्मक प्रभाव रहनेछ । निर्णय प्रक्रियामा बुद्धिपक्षको प्रयोग सुखद् रहने देखिन्छ । साथै शनि संकटा मन्दिरमा गएर बत्ती बाल्ने। भगवान शिवलाई रुद्राभिषेक गरेर आफ्नो भाग्यलाई राम्रो बनाउनुहोस्। अशक्तहरूको सेवा गर्नुहोस्।
शुभ रंगः रातो, पहेलो, सुन्तला र गुलाबी । शुभ अंकः ३, ५ र ९ । शुभ बारः बुधबार, बिहीबार र शुक्रबार । शुभ महिनाः जेठ, असोज, कार्तिक र फागुन ।