वृष राशि हुनेहरुका लागि यो वर्ष राम्रो, कुन क्षेत्र कस्तो ?
ज्यो हरि पन्त,
प्रकाशित २०८२ वैशाख १ सोमबार
874
Shares
वृष राशि हुनेहरुका लागि यो वर्ष राम्रो रहनेछ । वर्षारम्भमा बृहस्पतिको गोचर केही प्रतिकूल रहेकाले पारिवारिक असमझदारी, स्वास्थ्यमा बाधा, खर्च बढ्ने रहेपनि जेठबाट बृहस्पति र राहुको गोचर परिवर्तन हुनाले स्थिर सम्पत्ति प्राप्त हुने, आफन्तसँग रहेको मनमुटाव हट्ने, स्वास्थ्य राम्रो रहने समय छ ।
शनि ग्रहको एघारौँ गोचरका कारण आम्दानी बढ्ने, रोकिएका कामहरु निरन्तर हुने, उद्योग, निर्माण क्षेत्र, फलाम सम्बन्धी व्यवसायबाट राम्रो फाइदा लिन सकिने समय छ । केतु ग्रहको केही प्रतिकूल गोचरका कारण साथीभाइबाट असहयोग वा विश्वासघात, अनावश्यक यात्रा हुन सक्छ ।
यो वर्ष साउन, कार्तिक, फाल्गुन र चैत महिना शुभ रहेको छ। त्यस्तै वैशाख, भदौँ र पुष महिना अशुभ रहेको छ भने अन्य महिनाहरु सामान्य छन् । धार्मिक यात्राका योग देखिन्छन् । सर्वकल्याणार्थ दुर्गा भगवतीको आराधना सुखद् रहनेछ ।
कर्मक्षेत्र/जागिरः वृष राशिका लागि नयाँ वर्ष सकारात्मक रहनेछ । कार्यक्षेत्रमा उन्नतिका साथै वर्ष प्रेमिल रहने देखिन्छ । प्राज्ञिक कार्यमा मन प्रवृत्त हनेछ । कार्यक्षेत्रमा पनि उन्नतिका योग देखिन्छन् । पराक्रम पक्ष सबल देखिन्छ । नयाँ कार्ययोजनमा मन प्रवृत्त हुनेछ। अधुरा काम बन्ने देखिन्छ ।
आर्थिकः आर्थिक दृष्टिले वर्ष फलिभूत नै रहनेछ। आय आर्जनमा वृद्धि भए सँगै खर्चमा सूचक पनि बढ्नसक्नेछन् । सेयर व्यवसाय सुखद् रहनेछ । संयमित र योजनाबद्ध भएर खर्च गर्नु लाभदायक हुनेछ । वित्तीय क्षेत्रको लगानी उन्नत रहनेछ । व्यापारमा वृद्धि हुनेछ ।
शिक्षाः विद्याको क्षेत्र फलिभूत रहने देखिन्छ । बौद्धिक कार्यमा अभिरुचि बढ्नेछ । अध्ययनार्थ यात्राका योग पनि देखिन्छन् । कलात्मक पक्षको अध्ययन विशेष लाभप्रद रहनेछ ।
पारिवारिकः पारिवारिक पक्ष सुखद् रहने देखिन्छ । दाम्पत्य सुखका योग देखिन्छन् । वैदेशिक क्षेत्र पनि योवर्ष सुखद् नै रहनेछ । यात्राका योग पनि देखिन्छन् । प्राविधिक पक्षको अध्ययनार्थीका निम्ति वर्ष फलिभूत रहनेछ । प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि हुनेछ ।
स्वास्थ्यः स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ । नशा र पेटसम्बन्धी सामान्य विकार रहन सक्ने छन् । खानपानमा विशेष ध्यान दिनुहोला । नियमित स्वास्थ्य परीक्षण गर्नु लाभदायक हुनेछ । योग एवं ध्यान पनि स्वास्थ्यका निम्ति लाभदायक रहनेछन् ।
प्रेमः प्रेमपक्ष सुदृढ रहने देखिन्छ । नयाँ प्रेम सम्बन्ध स्थापित गर्नका निम्ति पनि वर्ष लाभदायक रहनेछ। समर्पणको भावनामा वृद्धि हुनेछ ।
राजनीतिः राजनीतिको क्षेत्र यो वर्ष लाभप्रद नै रहने देखिन्छ । सामाजिक मान सम्मान प्राप्तिका योग देखिन्छन् । कूटनीतिक क्षेत्रमा पनि सफलता प्राप्त हुनेछ । शत्रुहरूको गतिविधिमा सतर्कता अपनाउनुहोला । पराक्रमका दृष्टिले श्रावण महिना सुखद् रहनेछ । अधुरा काम पूरा हुने । कार्तिक, फाल्गुन, चैत्र महिना यो वर्ष सकारात्मक रहनेछन् । वैशाख, भाद्र र पौषमा खर्चमा वृद्धि हुन सक्ने देखिन्छ ।
उपायः यो वर्षभरि श्री दुर्गादेवीको आराधना गर्ने विशेष सफलताको योग बनिरहेको छ । सोमबारको दिन भगवान शिवलाई जल अर्पण गर्नुहोला। अशक्तहरूलाई भोजन प्रदान गर्नु होस्।
शुभ रंगः सेतो, रातो र गुलाबी ।
शुभ अंकः २,७ र ९ ।
शुभ बारः बुधबार, शुकबार र शनिबार ।
शुभ महिनाः साउन, फागुन र चैत ।