मेष राशिका लागि यो वर्ष मध्यम, कुन क्षेत्र कस्तो ?
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख १ सोमबार
756
Shares
मेष राशिका लागि यो वर्ष मध्यम समय छ । वर्षको सुरुमा बृहस्पति र केतु ग्रहको गोचर अनुकूल रहेकाले मन प्रशन्न रहनेछ भने काम गर्ने जोशजाँगर यो समयमा रहन्छ ।
जेठबाट वृहस्पति र केतुको गोचर परिवर्तनका कारण दाजुभाइ तथा आफन्तमा विवाद बढ्ने, अध्ययन अध्यापनबाट उचित लाभ लिन नसकिने, सन्तान हुनेहरुको सन्तान सम्बन्धि चिन्ता रहने समय छ । जेठबाट एघारौं गोचरमा आउने राहुले आम्दानी वृद्धि गर्ने, नयाँ काम प्रारम्भ हुन सक्ने, व्यवसाय वृद्धि हुने समय छ ।
शनिको गोचर वर्षभरि नै प्रतिकूल रहने भएकाले आलस्यता बढ्ने, काममा ढिलासुस्ती हुने, झुट्टा आरोपहरु लाग्न सक्ने रहेकाले सतर्क रहनुपर्छ ।
यो वर्ष असार, असोज, माघ, फाल्गुन महिना शुभ रहेको छ भने साउन, मङ्सिर र चैत महिना आर्थिक तथा पारिवारिक दृष्टिले केहि प्रतिकूल रहेको छ। अन्य महिना सामान्य छन् ।
समग्रमा यो वर्षको
वैशाखः स्थान परिवर्तन वा व्यापार व्यवसायको कारण यात्रा
जेठः शत्रुहरूबाट अज्ञात भय
असारः श्रीप्राप्ति
साउनः मान सम्मानमा कमी
भदौः आर्थिक समस्या वा शत्रु सक्रिय हुने
असोजः शत्रुमाथि विजय प्राप्त
कार्तिक ः शुभ यशको प्राप्ति
मङ्सिरः श्रम वा शारीरिक कष्ट
पुसः झुटो आरोप लाग्न सक्ने
माघः कार्यसद्धि
फागुनः धन लाभ
चैतः खर्चमा वृद्धि, व्यापार व्यवसायमा लाभ
जागिरः मेष राशिका लागि नयाँवर्षमा शुभ संकेत देखापर्नेछन् । ग्रहगोचरको प्रभाव सकारात्मक र प्रगतिशील देखिन्छ । कार्यक्षेत्रमा सफलता मिल्नेछ। आफ्नो क्षमता प्रदर्शन गर्ने मौका प्राप्त हुने छ भने आँटेका काममा सफलता मिल्ने देखिन्छ । सामाजिक मान प्रतिष्ठामा अभिवृद्धिका योग देखिन्छन् । शनि साढेसातीको प्रभाव भने वर्षभरि नै रहने देखिन्छ । जसले गर्दा शत्रुपक्ष सक्रिय रहन सक्नेछन् । निर्णय प्रक्रियामा बुद्धिपक्षको प्रयोग सुखद् रहनेछ । पराक्रम भाव सबल देखिन्छ । कार्यक्षेत्रमा मेहनत अधिक गर्नुपरे पनि फल सुखद् नै रहनेछ ।
आर्थिकः आर्थिक दृष्टिले वर्ष फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धिका योग देखिन्छन् । धनको पक्ष सबल रहनेछ । कागजी मुलायम वस्तुका साथै वस्त्रादि वस्तुको व्यवसाय यो वर्ष अझ उन्नत रहन सक्ने देखिन्छ । धातुजन्य वस्तुको व्यवसाय मध्यम फलदायी रहनेछ। शेयर लगानी मध्यम फलदायी रहनेछ । आम्दानीका स्रोतमा वृद्धि हुने देखिन्छ ।
अध्ययनः अध्ययन अध्यापनका दृष्टिले वर्ष सुखद् नै रहने देखिन्छ । विद्यार्थीका लागि यो समय अनुकूल छ । वैदेशिक यात्राका योग पनि देखिन्छन् ।
पारिवारिकः पारिवारिक पक्ष सुदृढ रहनेछ । दाम्पत्य सुखका योग देखिन्छन् । प्रेमपक्ष पनि उन्नत नै रहने देखिन्छ । आम्दानीका नयाँ अवसर प्राप्त हुनेछन् । सन्तति सुखका योग देखिन्छन् । मित्रपक्षबाट पनि लाभका योग देखिन्छन् ।
प्रेम सम्बन्धः युवा वर्गहरूले प्रेम प्रसंगलाई विवाहमा टुङ्ग्याउन सक्नुहुनेछ। सहकर्मी र भ्रात्री वर्गबाट सहयोग मिल्नेछ। साथीभाईहरूसंग औसत सम्बन्ध रहनेछ भने छरछिमेकीसंग व्यर्थको वाद विवाद उत्पन्न हुन सक्छ। सन्तान पक्षबाट चिन्ताको स्थिति रहन सक्छ।
स्वास्थ्यः स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ । शनिको प्रभावले हाड नशासम्बन्धी समस्या रहन सक्ने देखिन्छ । शनिमृत्युञ्जयको जपका साथै शनि स्तोत्रपाठ यो वर्ष सुखद् रहनेछ । शिवजीको आराधनाका साथै शनिबार पिपलको दर्शन, स्पर्शन एवं जल अर्पण सुखद् रहनेछ । ॐ शं शनैश्चराय नमः भन्ने मन्त्रको जप शुभ रहनेछ ।