भुटानले सन् १९८० को दशकको अन्त्यदेखि एक देश, एक भाषाको नीति लिएर झन्डै एक लाख नेपालीभाषी भुटानी भारतको बाटो हुँदै नेपाल पठायो । भारतले पनि नेपालको सीमासम्म लखेट्नका लागि सहयोगी भूमिका खेल्यो । नेपाल र भुटानले विभिन्न चरणमा वार्ता गरेता पनि सफल भएन र नेपालका विभिन्न शिविरमा राख्ने व्यवस्था मिलायो। भुटानबाट पोका पुन्तुरा बेगर खाली हात लखेटिएकाहरु नागरिकका रुपमा पनि अस्वीकृत भए । नेपालले पनि स्वीकार गरेन ।
गर्मी मौसममा अत्यधिक गर्मी हुने जिल्ला र जाडोमा पनि पेट चिसो गराउने जाडो सहेर झण्डै २०-२५ वर्ष भोको पेट, सामान्य कपडाको भरमा सर्प, माउसुली, झिंगा, लामखुट्टेको पनि हेपाईमा सहेर जीवन गुजारे ।
कठै विचरा देश नहुँदाको पीडा कस्तो हुन्छ भन्ने बारेमा उनीहरुको मलिन अनुहारले प्रष्ट देखाउँथ्यो । उनीहरुका लागि पनि ठूला दिल भएका देशहरुले स्वीकार गर्ने खवर थाहा पाउँदा पनि खुशी लागेको थियो ।
झण्डै एक लाख व्यक्तिलाई तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका, क्यानाडा र अस्ट्रेलियासँगै विभिन्न युरोपेली देशहरूमा बस्ने अवसर प्राप्त भयो।
त्यतिबेला नेपाल भाषी दाजुभाइको चेहरामा केही खुशी मिश्रित हाँसो छाएको थियो । पुर्नवास कार्यक्रम अस्वीकार गरी भुटाननै फर्कने चाहना राखी केही हजारको संख्यामा हाल नेपालको झापा जिल्लास्थित बेलडाँगी र शनिश्चरेमा बस्दै आएका छन् ।
आज भुटानी शरणार्थीको उपमा पाएका व्यक्तिहरु नेपाली मूलका हुन् भन्ने गरिएको छ। भुटानेले जबरजस्ती भुटानी नागरिकता खोसेर लखेटिदियो । नागरिकता नभएका मानिसहरु कुनै पनि देशमा सहज जीवनयापन गर्न, अध्ययन, रोजगारी, व्यवसाय आदि गर्नबाट बन्चित नै हुन्छन् । त्यस्तो अवस्थामा कसरी जीउने ?
भुटानबाट खेदिएकाहरुलाई भुटानको राजतन्त्रका विरुद्ध आन्दोलन गरेकोलगायत आरोप नेपाली भाषा बोलेको, मनको भित्री कुनामा नेपालको माया सजाएको कारणले नेपाल फर्काएको भन्ने छ ।
भुटानबाट नागरिकता खोसेर नेपाल लखेटिएका लाखौँ मानिसहरुलाई पालनपोषण गर्नु नेपालको लागि कठिन भएर सन् १९९९ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले संयुक्त राष्ट्रसङ्घलाई समस्याको बारेमा जानकारी गराई शरणार्थी हेर्ने निकायको सहयोगमा सामान्य जिउने व्यवस्था भयो ।
मलाई थाहा भएसम्म बहुसंख्यक व्यक्तिहरु भारतमा बसोबास गरेको बेलामा नै भुटानतिर बसाइँ सरेको सुनिन्छ । विगतमा नेपालमा बसोबास गरेको प्रमाण भएको भए परिवारका सदस्यले सकेको सहयोग गर्थे होलान् । तर भारतबाट उता बसाइँ सरेकोले भारतमा बरु केही आफन्त अथवा सम्पत्ति हुनुपर्ने हो । त्यो विषय पनि कतै खुलेको छैन ।
भुटान बसाइँका क्रममा भने घर जग्गा जमीनलगायत सम्पत्ति भएका भुटानकै नागरिकता भएका व्यक्ति हुन् भन्ने रहेको छ। तिनै व्यक्तिको आज भुटान सरकारले छायाँ पनि देख्न चाहँदैन ।
अमेरिका पुगेका केही भुटानी नागरिकलाई हालै भुटान फिर्ता पठाएको बारेमा थाहा भयो । उनीहरुलाई भुटानले आफ्नो नागरिकका रुपमा स्वीकार गरेन र फेरि सन् १९९० कै दशकको जस्तो व्यवहार देखाएर भारत हुँदै नेपालको सीमासम्म छोडेर गयो ।
नेपालको सीमा क्षेत्रमा पक्राउ परेर छानबिनका क्रममा रहेको भनिएका, अमेरिकाले फिर्ता गरेका मानिसहरुलाई न्यानो आतिथ्यका साथ विगतमा बसोबास गरेकै स्थानमा बस्न दिँदा उचित हुन्छ । भुटानले अस्वीकार गर्यो । भारतले चाहेन ।
अनि नेपाल नआएर कता जाने नेपाल भाषी दाजुभाइ ? सरकार ! प्रक्रिया मिलाएर कुनै कष्ट नदिई नेपालमा सहज बसोबासको व्यवस्था मिलाउने तर्फ ध्यान जाओस् ।
शिविरमा आलाप विलाप गर्दै रुने दाइ (कुमार सुवेदी) को तस्बिर विभिन्न पत्रिकामा देख्दा मन छिया-छिया भएको छ। नागरिकको रुपमा त सबैतिरबाट अस्वीकृत भएता पनि खान बस्नका लागि शिविरमा बस्ने व्यवस्था मिलोस् भन्ने कामना गर्दछु।
नेपालमा लामो समय बिताएको ठूलो संख्या आज तेस्रो मुलुकमा बसोबास गर्दै नेपाली भाषा, नेपालको माटो सम्झिरहेको छ। तेश्रो मुलुकमा बसोबास गर्ने धेरै दाजुभाइले नेपालप्रति सद्भाव र माया गर्छन् ।
देशका लागि उनीहरुको सद्भाव पनि अमूल्य गहना हो । विदेशमा रहेर आफूलाई नेपालीकै रुपमा परिचय दिनेहरु धेरै छन् । जीवनमा जति ठूलो हेपाई, पीडा, आँसु बगेता पनि कहिल्यै नेपाललाई पराई ठानेनन् ।
नेपालको माटोले उनीहरुलाई कहिल्यै अस्वीकार गर्न हुँदैन । नागरिकका रुपमा अस्वीकार भए पनि नेपालले अस्वीकार नगरोस् । नेपाली भाषा बोल्नु र नेपाललाई आफ्नो भन्न पाउँ भन्ने बाहेक के नै ठूलो माग छ र कसैबाट पनि नरुचाइएकाहरुको ।