arrow

पीएम कपमा गण्डकीको लज्जास्पद हार, पुलिसका ललित र गुल्सनको बहार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ६ बुधबार
pmcup-mens-national-cricket-2025.jpg

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार गण्डकी प्रदेशले लज्जास्पद हार बेहोरेको छ । 

गण्डकीलाई नेपाल पुलिस क्लबले सजिलै ७ विकेटले पराजित गरेको हो । सिद्धार्थनगरमा भएको खेलमा पहिले ब्याटिङ गरेको गण्डकी २३.२ ओभरमात्र क्रिजमा टिकेर ९२ रनमा अलआउट भयो । 

अर्जुन कुमालले ४८ रन बनाएको इनिङ्समा दोस्रो उच्च स्कोर गण्डकीले अतिरिक्तका रुपमा १४ रन पाएको थियो । 

गण्डकीमाथि हाबी हुने क्रममा पुलिसका लागि ललित राजबंशी र गुल्सन झाले बहार ल्याएका थिए । 

ललितले ७ रन दिएर ५ विकेट लिए । त्यस्तै गुल्सनले ४२ रन दिएर ४ विकेट लिए । 

जवाफमा पुलिसले १६ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो । कप्तान दिपेन्द्र सिंह ऐरीले २३ बलमा ६ छक्का र ३ चौकाको मद्धतले ५४ रन बनाए । 

यो जितसँगै पुलिसले अपराजित यात्रालाई कायमै राखेको छ । 

आजका अन्य खेल
आज अन्य दुई खेल भइरहेका छन् । भैरहवामा लुम्बिनीले सुदूरपश्चिमसँग खेलिरहेको छ । लुम्बिनीले टस जितेर पहिले ब्याटिङ गरेको छ । 

त्यस्तै लमहीमा त्रिभुवन आर्मी क्लबले मधेस प्रदेशसँग खेलिरहेको छ । आर्मीले टस जितेर पहिले ब्याटिङ गरेको छ । 

अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा ६ खेलबाट १२ अंकसहित नेपाल पुलिस क्लब शीर्ष स्थानमा रहेको छ । ५ खेलबाट १० अंकसहित त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ ।

लुम्बिनी प्रदेश ५ खेलबाट ८ अंकसहित तेस्रो स्थानमा छ भने सशस्त्र प्रहरीको एपीएफ ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ । 

कर्णाली प्रदेश र बागमती प्रदेश ५ खेलबाट ४ अंकसहित क्रमशः पाँचौँ र छैटौँ स्थानमा छन् । 

मधेस प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको समान २–२ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ