गोरखनाथ सामुदायिक वनमा डढेलो, नियन्त्रणको प्रयास जारी
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ चैत ४ सोमबार
827
Shares
काभ्रेपलाञ्चोक । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोक गाउँपालिका–३ बोल्देस्थित गोरखनाथ सामुदायिक वनमा लागेको डढेलो निभाउने प्रयास भइरहेको छ ।
आइतबार राति ११ बजेदेखि डढेलो लागेको हो । डढेलो नियन्त्रणका लागि आज बिहानैदेखि प्रयास भइरहेको जनाइएको छ ।
आगलागी भएको क्षेत्रबाट बस्ती करिब एक किलोमिटर टाढा रहेको तथा थलीडाँडा र हर्कभन्ञ्याङमा लगिएको खानेपानी आयोजना जोखिममा रहेको बेथानचोक गाउँपालिका–३ का वडाध्यक्ष कुवेर ढकालले बताए । उनका अनुसार आगलागी देव्रेतर्फ फैलियो भने मानव बस्ती जोखिममा पर्न सक्छ ।
रातको समयमा डढेलो देखिएकाले नियन्त्रणका लागि सम्भव नभएकाले बिहानैदेखि प्रहरी, स्थानीय जनप्रनितिनिधि, वन उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयद्वारा नियन्त्रणको प्रयास भइरहेको ढकालले बताए । उनका अनुसार आगलागीबाट हालसम्म कुनै मानवीय एवं पशु क्षति भएको छैन ।
यसअघि गत माघ पहिलो साता सोही क्षेत्र महाभारत पर्वतशृङ्खलाअन्तर्गत खानीखोला गाउँपालिका–१ स्थित थामलेखडाँडास्थित महाभारत जङ्गलमा लागेको डढेलो चार दिनपछि हेलिकप्टरमार्फत नियन्त्रणमा ल्याइएको थियो ।
खानीखोलाको थामलेख डाँडाबाट शुरु भएको आगलागी बेथानचोक गाउँपालिका–५, ३, १ र २ को सीमाक्षेत्रमा समेत आइपुगेपछि हेलिकप्टर मगाइएको थियो । जिल्लास्थित नेपाली सेना, सशस्त्र प्रहरी तथा अन्य सरोकारवाला निकायको जनशक्ति परिचालन गर्दा पनि नियन्त्रणमा ल्याउन नसकेपछि बेथानचोक गाउँपालिकाले गृह मन्त्रालयमार्फत हेलिकप्टर मगाई नियन्त्रणको प्रयास थालेको थियो ।
सशस्त्रको प्रहरी नायब निरीक्षकको कमाण्डमा चार जनाको टोली सहभागी भएको हो ।