काठमाडौँ । जनकपुरधाममा रहेर रेडियो पत्रकारिता गरिरहेकी पत्रकार आरती मण्डल केही समययता आफैँ समाचार बनिरहेकी छन्। अरूको समाचार सङ्कलनमा व्यस्त हुने आरतीले चलचित्र ‘राजागञ्ज’बाट अभिनय थालेकी छन् । सो चलचित्र शुक्रबारदेखि प्रदर्शन भइरहेको छ ।
सार्वजनिक प्रदर्शन अगाडि जनकपुर, चितवन र काठमाडौँमा गरिएको ‘प्रिमियर’ मार्फत आरतीले निर्वाह गर्नुभएको भूमिकाले चर्चा पायो । उनले पहिलोपटक चलचित्रमा अभिनय गरेकी हुन् । नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले गरेको खोजीको कथामा तयार भएको सो चलचित्रका लागि महिला कलाकारको खोजी भएको थाहा पाएपछि आरतीले अडिसन दिएकी थिइन्।
“मेरा लागि नयाँ अनुभव रहयो, पुरुषप्रधान समाजमा महिलाको अस्तित्व र आवश्यकतासँगै महत्वलाई चलचित्रले दर्शाउँछ । यसमा महिला नै मुख्य भूमिकामा हुनुहुन्छ, घुम्टोमा अनुहार लुकाउने मधेसमा महिलाले नेतृत्व गर्नु आफैँमा ठूलो विषय हो”, पत्रकार मण्डलले भनिन् ।
उक्त चलचित्रमा पत्रकार मण्डलसँगै महिला कलाकार आशा मगराती, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, निकिता चान्डक र पुष्पा यादवले समेत अभिनय गरेका छन् । यस चलचित्रमा सात महिला कलाकारलाई निर्देशक दीपक रौनियारले इन्द्रेणीको रङझैँ चित्रण गरेका छन् । चलचित्रको मूलकथा र पात्र यी सात महिला नै हुन् ।