arrow

पुलिस र आर्मी अपराजित रहँदै पीएम कपको शीर्ष दुईमा, मधेस १९३ रनले पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २ शनिबार
pmcup-army-tirthraj-das.jpg
तस्बिर – शतक प्रहारपछि आर्मीका तिर्थराज दास ।

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब शीर्ष स्थानमा पुगेको छ । शनिबारको खेलमा मधेस प्रदेशमाथि १९३ रनको फराकिलो जित हासिल गर्दै पुलिस सतप्रतिशत नतिजासहित शीर्ष स्थानमा पुगेको हो । 

लमहीमा भएको खेलमा पुलिसले टस जितेर पहिले ब्याटिङ गर्दै १ बल खेल्न बाँकी छँदा सबै विकेट गुमाएर २८८ रन बनायो । 

कप्तान दिपेन्द्र सिंह ऐरीले ३६ बलमा ६३, आरिफ शेखले ५४ बलमा ५५ तथा अर्जुन साउदले ७३ बलमा ४७ रन बनाए । 

रुपेश सिंहले ४, विशाल पटेलले ३ तथा कमल गुप्ताले २ विकेट लिए । 

जवाफमा मधेसले २६.१ ओभरमा अलआउट हुँदै ९५ रनमात्र बनाउन सक्यो । दिपेस दासले सर्वाधिक ३१ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा ललित राजबंशीले २८ रन खर्चेर ५ विकेट लिए ।

त्यस्तै सिद्धार्थनगरमा भएको खेलमा जित हासिल गर्दै त्रिभुवन आर्मी क्लब पनि अपराजित रहँदै शीर्ष दुईमा रहेको छ । 

आर्मीले कोशी प्रदेशलाई ७ विकेटले हरायो । खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ३ बल खेल्न बाँकी छँदै अलआउट हुँदै २३० रनमा समेटियो । सुभन गहतराजले ५१, सोनु अन्सारीले ४४ तथा सुजन थपलियाले ४२ रन बनाए । 

आर्मीका सोमपाल कामीले ४ तथा आकाश चन्द र शहाब आलमले २–२ विकेट लिए । 

जवाफमा आर्मीले ४७.१ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो । ओपनर तिर्थराज दासले १३९ बलमा अविजित रहँदै ११२ रन बनाए । 

त्यस्तै बसिर अहमदले अविजित रहँदै ६२ बलमा ६१ रन बनाए । 

अंक तालिका
१० टिम सहभागी प्रतियोगितामा समान ४ खेलबाट ८ अंकसहित नेपाल पुलिस क्लब शीर्ष तथा त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा रहेको छ ।

सशस्त्र प्रहरीको एपीएफ र लुम्बिनी प्रदेश ४ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । 

मधेस प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको  समान २–२ अंक छ । 

कोशी प्रदेश ४ खेलमा अंकविहीन छ । कोशीले अहिलेसम्म अंकको खाता खोल्न सकेको छैन । खाता नखोल्ने कोशी एकमात्र टिम हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ