मोरङमा केपी ओलीलाई धक्का, इतर समूहको प्यानल नै विजयी
रामकुमार परियार,
प्रकाशित २०८१ फागुन २३ शुक्रबार
3k
Shares
मोरङ । नेकपा एमालेको संस्थापन पक्षबाट उम्मेद्वार बनेका राजकुमार ओझालाई पराजित गर्दै विनोद ढकाल समूहका अजम्बर राई मोरङको अध्यक्षमा विजयी भएका छन् ।
विराटनगरमा सम्पन्न नेकपा (एमाले) मोरङको १० औँ जिल्ला अधिवेशनबाट राईको नेतृत्वमा इतर पक्षको प्यानलै विजयी भएको हो । अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, सहसचिवमा सन्तोष वान्तवा र महिला सहसचिवमा उषा झा विजयी भएका हुन् ।
विजयी भएकाहरु सबैले इतर पक्षबाट उम्मेदवारी दिएका थिए । पदाधिकारीहरुको अन्तिम मतपरिणाम सार्वजनिक भए पनि जिल्ला समितिका सदस्यहरुको अन्तिम मतपरिणाम आउन अझै केही समय लाग्ने देखिएको छ ।
पार्टीको संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, सहसचिवमा इर्जालाल राजवंशी र महिला सहसचिवमा शिल्पा निराला कार्कीले उम्मेदवारी दिएका थिए । उनीहरु सबै पराजित भएका छन् ।
एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि विराटनगरमा शुरु भएको थियो । जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो । ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित भएका थिए ।
एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो । बिहीबार दिउँसोबाट पार्टी कार्यालय पाञ्चालीमा मतगणना शुरु गरिएको थियो ।
यो नतिजाले केन्द्रीय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई धक्का लागेको छ । पूर्व राष्ट्रपति एवं एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी पछिल्लो समय सक्रिय भएसँगै ओलीसँग असन्तुष्ट नेताहरुको धमाधम गुट बनिरहेको बताइन्छ ।