मछिन्द्रका सनिश बने केपी ओली कपका सर्वोत्कृष्ट खेलाडी
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
829
Shares
काठमाडौँ । मछिन्द्र फुटबल क्लबका डिफेन्डर सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले रु एक लाखसहित यमाहा १२५ सिसीको मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।
यसैगरी मछिन्द्रकै विशाल श्रेष्ठ उत्कृष्ट गोलरक्षक घोषित भएका छन् । यस्तै मछिन्द्रकै स्टेफन जमाहा जाली सर्वाधिक गोलकर्ता बनेका छन् ।
यस्तै त्रिभुवन आर्मी क्लबका नीराजन धामी प्रतियोगिताको उदीयमान खेलाडी बनेका छन् । उनीहरुले जनही रु ५० हजारसहित यमाहा १२५ सिसी मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।
त्रिपुुरेश्वरस्थित दशरथ रङ्गशालमा सोमबार राति सम्पन्न फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै मछिन्द्र फुटबल क्लबले तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनशिपमा ह्याट्रिक गरेको हो ।
जितसँगै मछिन्द्रले रु १५ लाख ११ हजार एक सय ११ तथा उपविजेता आर्मीले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ ।
विजेता टोली तथा खेलाडीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओली, इटालियन फुटबल टोलीका पूर्वकप्तान तथा गोलरक्षक जियानलुइजी बुफोन, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीलगायतले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरे ।