काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा मछिन्द्र क्लबले ह्याट्रिक गरेको छ । मछिन्द्रले तेस्रो संस्करणको केपी ओली कप जित्दै लगातार तीन जितको रेकर्ड बनाएको छ ।
दशरथ रंगशालामा सोमबार बेलुकी सम्पन्न खेलमा पहिलो पटक फाइनल खेलेको त्रिभुवन आर्मी क्लब २–० ले सहजै पराजित भएसँगै मछिन्द्रले ह्याट्रिक गरेको हो ।
मछिन्द्रले मध्यान्तरअघि र मध्यान्तरपछि एक एक गोल गर्यो ।
मछिन्द्र क्लब सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० ले र आर्मी संकटा क्लबलाई २–१ ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।
फाइनल खेलमा विशेष अतिथिको रुपमा इटालियन फुटबलका लिजेन्ड गोलकिपर गियानलुइगी बुफोन रहे । उनी आइतबार नै काठमाडौँ आइपुगेका हुन् ।
बुफोनले खेलअघि दर्शकलाई सम्बोधन गर्दै नेपाली फुटबल पनि विश्वकपमा पुग्न सक्ने बताए । उनले फुटबल एक्लैले खेल्ने खेल नभएकाले सबै मिलेर नै अगाडि बढाउनु पर्ने भन्दै शुभकामना दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र बुझोनले संयुक्त रुपमा रेफ्रीलाई बल दिएर खेल शुरु भएको थियो ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा भएको प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ र उपविजेताले पाँच लाख जितेको छ ।
मछिन्द्रले पहिलो संस्करणमा सातदोबाटो युथ क्लब र दोस्रो संस्करणमा फाइनलमा न्यूरोड टिम एनआरटीलाई पराजित गर्दै उपाधि जितेको हो ।