काठमाडौँ । स्पेनिश ला लिगा फुटबलमा बार्सिलोनाले रियाल सोसिडाडलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले सोसिडाडलाई ४–० गोल अन्तरले परजित गरेको हो ।
घरेलु् मैदानमा खेलेको बार्साको जितमा जेरार्ड मार्टिन, मार्क कासाडो, रोनाल्ड अराउजो र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरे ।
यस खेलमा खेलको १७ औँ मिनेटमा आरिट एलुसटोन्डोले रातो कार्ड पाएपछि रियाल सोसिडाड १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको २६ खेलमा ५७ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको २६ खेलमा ५६ अंक रहेको छ ।
गएरातिको खेलमा एथ्लेटिकोले एथलेटिक क्लबलाई घरेलु मैदानमा १–० ले हरायो । तेस्रो स्थानमा रहेको रियाल मड्रिडको २६ खेलमा ५४ अंक रहेको छ । शनिबारको खेलमा रियाल मड्रिड रियाल बेटिससँग २–१ ले पराजित भएको थियो ।
एथलेटिक क्लब ४८ अंकसहित चौथो स्थानमा छ । भ्यालेन्सिया, डेपोर्टिभो अलाभेस र रियाल भल्लाडोलिड रेलिगेशन क्षेत्रमा छन् ।