न्यूजिल्याण्डलाई हराउँदै भारत समूह विजेता, यस्तो बन्यो सेमिफाइनल समीकरण
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
749
Shares
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलको समीकरण पूरा भएको छ । गएराति भएको खेलमा भारतले न्यूजिल्याण्डमाथि ४४ रनको जित हासिल गर्दै समूह विजेता भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
खेलमा १३ औँ पटक लगातार टस हार्ने रेकर्ड बनाएर पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा २४९ रन बनायो । श्रेयर अथ्यरले ७९ रन जोडे ।
जवाफमा न्यूजिल्याण्डले ४५.३ ओभरमा अलआउट हुँदै २०५ रनमात्र बनायो । केन विलियमसनले ८१ रन बनाएको इनिङ्समा वरुण चक्रवर्तीले ४२ रन खर्चेर ५ विकेट लिए ।
भारतले समूहका सबै खेल जितेर सेमिफाइनलमा ठाउँ बनायो भने न्यूजिल्याण्डले पाकिस्तान र बंगलादेशलाई हरायो ।
अर्को समूहबाट दक्षिण अफ्रिका समूह विजेता तथा अष्ट्रेलिया समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।
पाकिस्तानको आयोजनामा (तर भारतले पाकिस्तानमा खेल्न नमानेसँगै भारतले सबै खेल यूएईको दुबईमा खेलिरहेको) भइरहेको खेलमा अब सेमिफाइनलमा भारतले मंगलबार अष्ट्रेलियासँग दुबईमा तथा बुधबार दक्षिण अफ्रिकाले लाहोरमा न्यूजिल्याण्डसँग खेल्नेछ ।
च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार मार्च ९ मा हुने छ ।