झापा । सौर्य एअर ओम साई पाथीभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप २०८१ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक भद्रपुर ब्लेजर्सले जितेको छ ।
झापाको भद्रपुरस्थित मेची रंगशालामा शुक्रबार भएको फाइनल खेलमा आयोजक ब्लेजर्सले झापा ११ लाई २–० ले हराउँदै उपाधि जितेको हो । भद्रपुरलाइ जिताउन खेलको ३० औं मिनेटमा कप्तान आशिष चापागाईंले तथा इन्जुरी समयको अन्तिम समयमा सत्यम शर्माले गोल गरे ।
उपाधि विजेता ब्लेजर्सले यसअघि दार्जिलिङ पुलिस क्लब, नेपाल पुलिस क्लब र बंगलादेशको काउर्न बाजार प्रगति संघलाई हराएको थियो ।
त्यसैगरी झापा ११ ले मछिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड एफसी र भुटानको डाँगा युनाइटेडलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।
गोल्डकपको विजेता बन्दै आयोजक भद्रपुर ब्लेजर्सले नगद १३ लाख, आकर्षक ट्रफी र मेडल प्राप्त गर्यो । उपविजेता झापा ११ ले ७ लाख, ट्रफी र मेडलमा चित्त बुझायो ।
भद्रपुरका विशाल दर्जी प्लेयर अफ द फाइनल हुँदै २१ हजार रुपैयाँ जिते । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भद्रपुर ब्लेजर्सका कप्तान आशिष चापागाईं भए । उनले नगद एक लाख पाँच हजार र ट्रफी प्राप्त गरे ।
उदयीमान खेलाडी भद्रपुरका राजेश शाह, उत्कृष्ट गोलकिपर भद्रपुरका टेकेन्द्र थापा, उच्च गोलकर्ता भद्रपुरका सत्यम शर्मा र बेस्ट कोच भद्रपुरका सचिन्द्र धिमाल भए । उनीहरुले जनही रु २५ हजार पुरस्कार र ट्रफी प्राप्त गरे ।
फाइनल खेलमा टिकट लिएका भाग्यशाली दर्शकहरूमा भोजपुरका दर्शक एन्जल चर्मकारले टीभीएस राइडर मोटरसाइकल पाए । सुनको सिक्री भद्रपुरका विक्रम बराल र नगद रु ५० हजार भद्रपुरका राजेशकुमार गुप्ताले पाए ।
विजेता तथा उपविजेतालाई गोल्डकपका अध्यक्ष दिपेश ढकाल, वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीलगायत समितिका सदस्य, पुरस्कार दाता चण्डीराज ढकाल, हेमराज ढकाल, टिकाराज ढकाल, अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुंगाना, कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतले पुरस्कार वितरण गरेका थिए ।
फागुन ७ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेशका गरी १० टिमले सहभागिता जनाएका थिए ।