शिल्पी थिएटरले नयाँ संरचना बनाउँदै, तीस हजार लिएर आजीवन सदस्यता
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १६ शुक्रबार
999
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । एघार वर्षदेखि सञ्चालित शिल्पी थिएटर नाटक घरले नयाँ संरचना बनाउने भएको छ । जसका लागि करिब ५० लाख रुपैयाँ लाग्ने भन्दै शिल्पीले मागेर भन्दा सहकार्यमा सदस्यता वितरण गरी रकम संकलन गर्ने जनाएको छ ।
शिल्पीले सूचना सार्वजनिक गर्दै नयाँ संरचनाका लागि ५० लाख लाग्ने तर नाटकघरले २० लाख रुपैयाँ गरेकाले बाँकी रकम सहयोग लिएर आजीवन सदस्य बनाउने बताएको छ ।
जसका लागि प्रतिव्यक्ति तीस हजार रुपैयाँ सहयोग दिनुपर्नेछ । शिल्पीले भनेको छ, ‘हामीले साथीहरू वा नेपाली रङ्गमञ्चलाई माया गर्ने अन्य व्यक्तिहरुसँग ३० हजार रुपैयाँ सहयोगमा लिएर आजीवन सदस्य बनाउँछौँ ।’
यो सहयोग बापत शिल्पी थिएटरमा मञ्चन हुने कुनै पनि नाटक आजीवन निःशुल्क देखाउने बताएको छ । हरेक नाटकको २ वटा टिकट पाइनेसमेत शिल्पीले जनाएको छ ।
यस्ता आजीवन सदस्यको संख्या बढीमा एक सय जनामात्र रहने छ । वार्षिक साधारण सभामा पनि ती सदस्यलाई समेटिने शिल्पीले जनाएको छ ।
शिल्पीले अगाडि भनेको छ, ‘शिल्पी नाटकघरका आजीवन सदस्यलाई विभिन्न स्थानमा छुट हुने व्यवस्था गर्ने सोच पनि रहेको छ । यसको लागि केही रेष्टुरेन्ट तथा पसलहरुले सकारात्मक प्रतिक्रिया दिएका पनि छन् ।’
कुमार आले अध्यक्ष रहेको शिल्पीले अन्त्यमा भनेको छ, ‘तपाईको सहयोगले हामीलाई ठूलो उर्जा दिनेछ र नेपाली रङ्गमञ्चलाई अझ प्रेरित गर्नेछ । किनभने यो ठाउँ शिल्पीको लागिमात्र हैन अरु धेरै समूहले नाटक गर्ने ठाउँ हो । साहित्य र संगीत हुने ठाउँ हो ।’