arrow

च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले हरायो इङ्गल्याण्डलाई, जद्रानले राखे रेकर्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १५ बिहिबार
ct-afg-en.jpg

काठमाडौँ । च्याम्पियन्स ट्रफी क्रिकेटमा अफगानिस्तानले कीर्तिमानी जित हासिल गरेको छ । अफगानिस्तानले इङल्याण्डमाथि कीर्तिमानी जित हासिल गरेको हो । यो प्रतियोगितामा अफगानिस्तानले पहिलो पटक इङ्गल्याण्डलाई हराएको हो । 

पाकिस्तानको लाहोरमा भएको समूह बी को खेलमा अफगानिस्तानले इङ्गल्याण्डलाई ८ रनले पराजित गरको हो । अफगानिस्तानले दिएको ३२६ रनको लक्ष्य पछ्याएको इङ्गल्याण्डले ४९.५ ओभरमा अल आउट हुँदै ३१७ रनमात्र बनाएपछि खेल अफगानिस्तानले ८ रनले जितेको थियो ।  

इङ्गल्याण्डका लागि जो रुटले सर्वाधिक १२० रन बनाएका थिए भने बेन डकेट र कप्तान जोस बटलरले ३८–३८ रन बनाएका थिए । त्यस्तै जामी ओभरटनले ३२ रन बनाएका थिए ।

त्यस्तै अफगानिस्तानका अजमतुल्लाह ओमारजाईले सर्वाधिक ५ विकेट लिएका थिए भने मोहमद नबीले २ विकेट लिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाउँदै ३२५ रन बनाएको थियो ।

अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्वाधिक १७७ रन बनाएका थिए । जद्रानले १४६ बल खेल्दै १२ चौका र ६ छक्का सहित १७७ रन प्रहार गरेका थिए ।

च्याम्पियन्स लिगमा यो व्यक्तिगत सर्वाधिक रन हो । आईसीसीका प्रतियोगितामा अफगानिस्तानबाट शतक बनाउने उनीमात्रै हुन् । यसअघि सन् २०२३ को विश्वकपमा अष्ट्रेलिया विरुद्ध जद्रानले १२९ रन बनाएका थिए । 

त्यस्तै अज्मतुल्लाह ओमारजाईले ४१ तथा मोहम्मद नबी र कप्तान हशमतुल्लाह शाहिदीले ४०–४० रन बनाएका थिए ।

त्यसैगरी इङल्याण्डका बलर जोफ्रा आर्चरले ३, लियाम लिभङ स्टोनले २ तथा जामी ओभरटन र अदिल राशिदले एक एक विकेट लिएका थिए ।

यो हारसँगै इङल्याण्ड लगातार दुई खेलमा हार बेहोरेर च्याम्पियन्स ट्रफीबाट बाहिरिएको छ । त्यस्तै अफगानिस्तानले २ खेलमा २ अंक हासिल गरेको छ भने सेमिफाइनलको सम्भावना कायम राखेको छ ।

दुई खेलबाट दक्षिण अफ्रिका र अष्ट्रेलियाको समान ३–३ अंक छ । समूहको अन्तिम खेलमा अष्ट्रेलियाले अफगानिस्तानसँग तथा दक्षिण अफ्रिकाले इङ्गल्याण्डसँग खेल्नेछ । 

आजको खेल
आज पाकिस्तान र बंगलादेश खेल्नेछन् । दुवै टिमले शुरुआती दुई खेल हारेसँगै प्रतियोगिताबाट बाहिरिइसकेका छन् । सान्त्वना जितका लागि दिउँसो २ः४५ बजे रावलपिण्डीमा खेल्नेछन् । 

यो समूहबाट दुवै खेल जितेर भारत र न्यूजिल्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ