महिला च्याम्पियनशिपको फाइनलमा नेपाल र म्यानमार मैदानमा
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
792
Shares
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनलमा नेपाल र म्यानमार भिडिरहेका छन् । दशरथ रंगशालाको मैदानमा भइरहेको खेल जितेर नेपालले इतिहास रच्न आतुर देखिएको छ ।
नेपाल अहिलेसम्म १३ ओटा प्रतियोगिताको फाइनलमा पुगेको भए पनि उपाधि भने जित्न सकेको छैन ।
यसपालि घरेलु मैदानमा नेपाललाई उपाधि जित्ने सुनौलो अवसर रहेको छ । तर आफूभन्दा निकै माथिको वरीयताको नेपाललाई जित्न सहज भने छैन ।
कीर्गिस्तान र लेबननसमेत रहेको प्रतियोगिताबाट दुवै टिम भने शीर्ष दुईमा पर्न नसक्दा फाइनल सम्भावनाबाट बाहिरिएका थिए ।
नेपाल र म्यानमारले दुवै टिमलाई पराजित गर्दै फाइनलमा स्थानमा बनाएका हुन् । लिग चरणमा दुवै टिमले आपसमा २–२ गोलको बराबरी खेलेका थिए ।
सो बराबरीका कारण नेपालको मनोबल बढेको छ । म्यानमार फिफाको वरीयतामा ५५ औँ स्थानमा रहेको छ भने नेपाल १०३ औँ स्थानमा रहेको छ ।
दुई टिमबी आपसमा ५ खेल भएकामा ३ खेल म्यानमारले जितेको थियो भने २ खेलमा बराबरी भएको थियो ।
आजको खेलमा सावित्रा भण्डारी साम्बा, सविता राना मगर र रेखा पौडेलले फरवार्डको जिम्मेवारी सम्हालेका छन् । नेपाली टिममा अन्जिला सुब्बा (गोलकिपर), समिक्षा घिमिरे, गीता राना, बिमला विक, पुजा राना, प्रिती राई, रेनुका नगरकोटी, सरु लिम्बुसहित सबिता, सावित्रा र रश्मी रहेका छन् ।
उक्त खेलका लागि टिकट सबै बिक्री भएको छ । उक्त फाइनलको सबै टिकट बिक्री भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
यो खेलका लागि दर्शक पूरै भरिएका छन् । दर्शकहरु चार घण्टा अगाडिदेखि नै रंगशालामा आएका थिए । आज महाशिवरात्रिको सार्वजनिक बिदा भएका कारण पनि दर्शकको ओइरो लागेको हो ।