यी हुन् फागुन १२ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णयहरू [भिडियो]
नेपाली सेनाको महासेनानी र सहायक रथी पदमा बढुवा
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
508
Shares
काठमाडौँ । सरकारले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गरेको छ । फागुन १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गरेको हो ।
साथै सरकारले एक जना महासेनानी, दुई जना सहायक रथी र एक जना उपरथीको पदावधि थप गरेको छ । सरकारका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालय (पशुपक्षी विकास) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको बताए । नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदमा शरद ओझा, कञ्चनपुरलाई नियुक्त गरेको छ ।
यस्ता छन् निर्णयहरुः
भारतको जयपुरमा २०८१ फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. रमेशप्रसाद सिंहलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
थाइल्याण्डको बैंककमा २०८१ फागुन १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय सदस्य डा. जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
संयुक्त राज्य अमेरिकामा २०८२ वैशाख १४ गतेदेखि १७ गतेसम्म आयोजना हुने हार्बड मिनिस्टेरियल लिडरसिप प्रोग्राम अन्तर्गतको २०२५कार्यक्रममा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएका र सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका तर भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमको सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने ।
विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट तेस्रो चरणअन्तर्गत १५० मिलियन अमेरिकी डलर बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्ताबेजलाई अन्तिम रूप दिन वार्ता टोली गठन गर्ने र उक्त वार्ता टोलीलाई विश्व बैङ्कसँग वार्ता गर्न अख्तियारी दिने ।
नेपाल बिमा प्राधिकरणको अध्यक्ष पदमा श्री शरद ओझा, कञ्चनपुरलाई नियुक्त गर्ने ।
२०८१ फागुन १८ गतेदेखि २२ गतेसम्म भारतमा हुने खानेपानी तथा सरसफाइ स्वच्छता (डब्ल्युएएसएच) क्षेत्रको विकाससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुन माननीय खानेपानी मन्त्रीलाई स्वीकृति दिने ।
संवत् २०८० वैशाख १ गतेदेखि यताका मनसुनजन्य विपद्मा परी बेपत्ता भएका व्यक्तिका परिवारलाई बेपत्ता भएको व्यक्ति कम्तीमा दश दिनसम्म पनि फेला पर्न नसकेको अवस्था यकिन गरी सम्बन्धित जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकसरह राहत उपलब्ध गराउने ।
झापा जिल्ला, गौरादह नगरपालिका वडा नं. ४ र ५ अन्तर्गतको जग्गा दर्तासम्बन्धी (पहिलो संशोधन) आदेश, २०८१ स्वीकृत गर्ने ।
२०८१ फागुन २७ र २८ मा संयुक्त राज्य अमेरिकाको वासिङटनमा आयोजना हुने ट्रान्सपोर्टेसन कन्प्रेन्स विषयक कार्यक्रममा माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गर्ने । साथै एक जना महासेनानी, दुई जना सहायक रथी र एक जना उपरथीको पदावधि थप गर्ने ।
मिति २०८१ फागुन २१ गतेदेखि २३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने डब्ल्युएसडीएस कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्री माननीय ऐनबहादुर शाही ठकुरीलाई स्वीकृति प्रदान गर्ने ।
पथरी शनिश्चरे नगरपालिका, मोरङलाई सोही नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि सोही नगरपालिको वडा नं. १० मा रहेको राष्ट्रिय बनको जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
आदिवासी जनजाति आयोग र जनवादी गणतन्त्र चीनको एनईएसीबीच हस्ताक्षर हुने समझदारी पत्रमा समकक्षी मिलाई हस्ताक्षर गर्न आदिवासी जनजाति आयोगलाई अख्तियारी दिने ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालय (पशुपक्षी विकास) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (शिक्षा) र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवको वैदेशिक भ्रमण स्वीकृत गर्ने ।