बालबालिका र महिलालाई अनलाइन दुर्व्यवहारबाट बचाउन डिजिटल शिक्षामा जोड
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
818
Shares
काठमाडौँ । विद्युतको पहुँच तथा इन्टरनेटको विकाससँगै नेपालमा अनलाइनबाट हुने दुर्व्यवहारजन्य अपराधका घटनाहरु बढ्दै गएका छन् ।
इन्टरनेटको तीव्र विकाससँगै सामाजिक सञ्जालका विभिन्न प्लेटफममार्फत हुने यस्ता घटनाहरुको न्यूनीकरणको लागि डिजिटल शिक्षा आजको आवश्यकता रहेको सरोकारवाला तथा सञ्चारकर्मीहरुले बताएका छन् ।
सुरक्षित इन्टरनेट दिवस २०२५ को सन्दर्भमा ‘अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
भ्वाइस अफ चिल्ड्रेन र आइवर्ट नेपालको संयुक्त आयोजना भएको कार्यक्रममा अनलाइनबाट हुने दुर्व्यवहारका घटनाहरुको तथ्याङ्क अध्ययन, रोकथाम तथा न्यूनीकरणका उपाएको विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले आयोगमा महिला र किशोरीमाथि हुने विभिन्न हिंसालगायत अनलाइन हिंसाका उजुरी आउने गरेको बताइन् ।
उनले प्रविधिको सहयोगमा धेरै राम्रा, उत्पादनमुलक र सूचनामुलक जानकारी हासिल हुने गरे पनि यसको दुरुपयोग हुँदा धेरै नै दुःख, बदनामी खप्नुपर्ने अवस्था भएकाले सुरक्षित इन्टनरनेटको प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम विद्यालय र समुदाय स्तरमा समेत निरन्तर सञ्चालन गर्नुपर्ने बताइन् ।
राष्ट्रिय बालअधिकार परिषद्की सदस्य सचिव इन्द्रादेवी ढकालले साइबर हिंसाको सिकारमा धेरै बालबालिका परिरहेको बताउँदै अहिलेको जमानामा इन्टरनेटको प्रयोग नै नगर भन्न नसकिने उल्लेख गरिन् ।
उनले इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिकालगायत सबैले सिक्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले प्रविधिको दुरुपयोगले समाजका सबै उमेर, वर्ग र पेशा व्यवसायका व्यक्तिहरुलगायत पत्रकारसमेत अनलाइन हिंसामा परेको सन्दर्भमा रहेको उल्लेख गरिन् ।
उनले प्रविधिको सदुपयोग सम्बन्धमा चनाखो हुँदै हिंसामा परिहाले सम्बन्धित निकायमा उजुरी गरी पीडकलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिए ।
आइवर्ट नेपालका अध्यक्ष इच्छा गुरुङले अनलाइन हिंसाबाट पत्रकार महिला पनि प्रभावित हुने क्रम बढेको बताइन् । उनले समाज परिवर्तनका लागि योगदान दिने पत्रकार नै यस्तो हिंसामा पर्नुले अनलाइन हिंसाको अवस्था भयावह रहेको बताइन् ।
भ्वोइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले अनलाइन हिंसामा महिला, बालिका, किशोरी मात्र होइन, बालकहरू पनि परिरहेको सो तथ्याङ्कले देखाएको र इन्टरनेटको सही प्रयोगबारे जनचेतनामुलक कार्यक्रम र साइबर हिंसा गरे हुने कारबाही र उजुरी गर्ने निकाय नेपाल प्रहरी साइबर व्युरोबारे पनि सबैलाई जानकारी गराउँदै जानुपर्ने बताए ।
आइवर्ट नेपालकी उपाध्यक्ष दिपाञ्जली लामाले “अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका” विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपाल प्रहरी साइबर ब्युरोका अनुसार आर्थिक वर्ष २०८०/८१ मा ६३५ जना बालबालिका र आठ हजार ७४५ जना महिला प्रभावित भएको तथ्याङ्क प्रस्तुत गरिन् ।
उनका अनुसार बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था भ्वाइस अफ चिल्ड्रेनले जर्मन सहयोगमा सन् २०२३ मा कोशी र बागमती प्रदेशका ५१४ जना बालबालिका र सम्बन्धित परिवारसँग गरिएको सर्वेक्षणले पनि साइबर अपराधको जालोमा बालबालिका परिरहेको तथ्याङ्क देखाएको छ ।
सो सर्वेक्षणमा १३ देखि १८ वर्ष उमेर समूहका ९७ प्रतिशत बालबालिका इन्टरनेटको पहुँचमा रहेको देखाएको छ ।
जसमध्ये ३८.६० प्रतिशत बालिकालाई र ३२.३० प्रतिशत बालकले सामाजिक सञ्जालबाट यौनजन्य सन्देश आएको, ३४ प्रतिशतले अश्लील फोटो र अन्य दुर्व्यवहार हुने भिडियो आउने गरेको उल्लेख छ ।
नेपालमा ८१ प्रतिशतभन्दा बढी साइबर हिंसा तथा अपराध सामाजिक सञ्जाल फेसबुकबाट भइरहेको पाइएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा ६३५ जना बालबालिकामध्ये २५३ बालक र ३८२ बालिका रहेका छन् । यस्तै अनलाइन हिंसा तथा अपराधमा महिला आठ हजार ७४५ जना महिला प्रभावित भएको तथ्याङ्क छ ।
कार्यशालामा साइबर ब्युरोकी सावित्रा कार्कीले पछिल्लो समय बढेको साइबर हिंसाका स्वरुप र सचेतनाका उपाय हरुको बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
सोही अवसरमा पत्रकार महासंघका नवनिर्वाचित महिला पदाधिकारीहरुलाई आयोजकले बधाई तथा सम्मान प्रदान गरेको थियो ।