भारत च्याम्पियन्स ट्रफीलाई तयार, इङ्गल्याण्डविरुद्ध रेकर्डसहित क्लिन स्वीप
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
394
Shares
काठमाडौँ । इङ्गल्याण्ड विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखलामा भारतले क्लिन स्वीप गरेको छ । श्रृंखलाका सबै तीन खेल जितेर भारतले श्रृंखला क्लिन स्वीप गर्न सफल भएको हो ।
पहिलो र दोस्रो खेल समान ४ विकेटले जितेको भारतले तेस्रो खेल १४२ रनले जित्यो । यो सर्वाधिकबाट दोस्रो फराकिलो जित हो ।
बुधबार राति अहमदाबादमा भएको खेलमा भारतले धेरै कीर्तिमान राखेको छ । खेलमा भारतले टस हार्यो । भारतले लगातार ११ खेलमा टस हारेर रेकर्ड राख्यो ।
खेलमा भारतले पहिले ब्याटिङ गर्दै ५० ओभरमा अलआउट हुँदै ३५६ रन बनायो । शुबमन गिलले १०२ बलमा ११२ रन बनाए । उनले लगातार तीन खेलमा ५० भन्दा बढी रन बनाए ।
सन् २०२२ देखि उनले १३ शतक बनाएर कीर्तिमान बनाए । इङ्गल्याण्डका जो रुटको पनि १३ शतक नै छ ।
त्यस्तै ५० इनिङ्स खेलेर सर्वाधिक रन बनाउने उनी विश्वकै पहिलो खेलाडी हुन् । उनले करिब ६० को औसतमा २ हजार ५८७ रन बनाए । दोस्रो नम्बरमा दक्षिण अफ्रिकाका हाशिम अमला छन् । उनले २ हजार ४८६ रन बनाएका छन् ।
अहमदाबादमा भारतले दोस्रो उच्च योगफल बनाएको हो । यसअघि सन् २०१० मा दक्षिण अफ्रिकाविरुद्ध भारतले २ विकेटको क्षतिमा ३६५ रन बनाएको थियो ।
त्यस्तै श्रेयस अथ्यरले ७८ तथा विराट कोहलीले ५२ रन बनाए । कोहलीले एसियामा १६ जार रन पूरासमेत गरेका छन् । उनले ३१२ खेलमा १६ हजार २५ रन बनाए । पहिलो स्थानमा सचिन तेन्दुलकर छन् । उनले ४११ खेलमा २१ हजार ४७१ रन बनाए ।
कोहलीले इङ्गल्याण्डविरुद्ध सबैभन्दा बढी रन बनाउने भारतीय खेलाडीसमेत भएका छन् । उनले ८७ खेलमा ४ हजार ३६ रन बनाए ।
जवाफमा इङ्गल्याण्डले ३४.२ ओभरमा अलआउट हुँदै २१४ रन बनायो । टम बाटन र गुस एकिन्सनले समान २८ रन बनाए ।
योसँगै भारतले १४२ रनको जित निकाल्यो । यो दोस्रो फराकिलो जित हो । यसअघि भारतले सन् २००८ मा राजकोटमा १५८ रनको जित हासिल गरेको थियो ।
यो खेलसँगै भारत च्याम्पियन्स लिगका लागिसमेत तयार भएको छ । चिन्तामा अल्झिएका रोहित शर्मा र विराट कोहली फर्ममा फर्केसँगै भारत मजबुत भएको छ ।
च्याम्पियन्स ट्रफी पाकिस्तानको आयोजनामा आगामी फागुन ७ गते फेब्रुअरी १९ देखि हुँदैछ । भारत पाकिस्तान नजाने भएसँगै तटस्थ स्थल दुबईमा खेलिने छ ।
भारतको पहिलो खेल फेब्रुअरी २० मा बंगलादेशसँग हुनेछ । दोस्रो भिडन्त दुबईमै पाकिस्तानविरुद्ध २३ फेब्रुअरीमा हुनेछ ।