तनहुँ । तनहुँको भानु नगरपालिका-९ चिती खोलाका स्थानीयवासीलाई पूर्वाधार विकासले गाउँ फर्कन सहयोग पुगेको छ ।
चार वर्षदेखि गाउँमा फर्किएर पुरानो परम्परागत घर र बाँझो रहेको जग्गाको उपयोग गर्दै गीता अधिकारी पाण्डेले ग्रामीण उद्यमशीलतालाई अगाडि बढाएका छन ।
उनले सञ्चालनमा ल्याएको परम्परागत र आधुनिक शैलीको मिश्रणसहित ‘ग्रीन हिमालयन फार्म स्टे’ ग्रामीण उद्यमशीलताको नमूना बनेको छ ।
यस फार्ममा परम्परागत शैलीलाई संरक्षण गर्दै आधुनिक संरचना थप गरेर फार्म स्टे सञ्चालन भइरहेको फार्म सञ्चालक अधिकारीले बताउछन । उनका अनुसार ७५ रोपनी क्षेत्रफलमा फार्म सञ्चालन गरिएको छ ।
यस फार्मलाई व्यवस्थित बनाउन दुई करोड खर्च गरी समयको मागअनुसार आधुनिक र परम्परागत शैलीको सम्मिश्रणसहित फार्म सञ्चालनमा ल्याइएको उनले बताए ।
“परम्परागत रुपमा घरलाई सिँगारिएका आधुनिक सेवा, सुविधा प्रवाह गरिने हुँदा पाहुनाको आकर्षण बढ्ने क्रम जारी छ”, उनले भने, “बिदाको दिनमा खाली हुँदैन, आन्तरिक पर्यटक नै किन नहोस् यस प्रवर्द्धनमा सहयोग पुगेको छ ।”
यस फार्म स्टेमा परम्परागत शैलीका चिटिक्क सिँगारिएका घर र आधुनिक सुविधायुक्त घर निर्माण गरी पाहुनाको आकर्षणको केन्द्र बनाइएको छ ।
गोलो आकारको एक तले मगर घर, लिचीको बोटमुनि रहेको ट्रि हाउस र नेपालमै पहिलोपटक व्यावसायिक रूपमा निर्माण गरिएको ब्यारल घर फार्म स्टेको प्रमुख आकर्षण हुन् ।
तनहुँको पुरानो बजार डुम्रेबाट करिब २० किलोमिटर टाढा अवस्थित यस फार्म ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको हो । फार्म स्टेले आफ्नै बारीमा उत्पादित खाद्यवस्तु मात्रै पाहुनालाई पस्कने गरेको छ । जैविक खाद्यवस्तुको उपयोग गर्दै सेवा दिने गरेको छ ।
“नुन, चिनी र मसलाबाहेक सबै सामग्री यही फार्ममा उत्पादन गर्छौं”, फार्म सञ्चालक पाण्डेले भने, “स्वस्थ्यवर्द्धक खाना खुवाउने गर्छौं, यस फार्ममा मात्रै होइन चिती खोलाका स्थानीयवासीले नै प्राङ्गारिक मल मात्रै प्रयोग गरी खाद्यवस्तु उत्पादन गर्छन् ।”
फार्म स्टेमा प्राङ्ग्रारिक मल आफैँ बनाउने र जैविक खाद्यवस्तु उत्पादन गर्ने गरेका उनको भनाइ छ ।
उनले भने “यहाँ कृषि उत्पादन र पशुपालनबाट पाहुनलाई स्वच्छ र स्वास्थ्य खाना खुवाइन्छ, गाउँलाई नै जैविक खाद्यवस्तु उत्पादन र उपयोगमा प्रोत्साहन गरिरहेको छ ।”
फार्ममै उत्पादित कृषिउपज र पशुपालनबाट उत्पादित दूध, दहीसहितको खाना पाहुनालाई खुवाइने गरिएको उनले बताए ।
फार्म सञ्चालनको उद्देश्य गाउँमै बस्ने वातावरण निर्माण गर्नु र रोजगारीको अवसर सिर्जना गर्नु रहेको सञ्चालक अधिकारीले बताए । आर्थिक रुपमा आत्मनिर्भर बनाउन यहाँका स्थानीयलाई पनि सहज भएको उनले बताए ।
उनको फार्ममा जैविक र प्राङ्गारिक मलको उपयोग गरी उत्पादन र पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको स्थानीय धनकुमारी सारु मगरले बताइन ।
उनले भनिन्, “उहाँ गाउँ फर्किएर फार्म स्टे सञ्चालन गरेपछि यहाँको प्रवर्द्धनमा सहयोग पुगेको छ, बाह्य पर्यटकको आगमन नभए पनि आन्तरिक पर्यटकको आगमन बढ्नेक्रम छ, यसले हामीलाई समेत स्थानीय उत्पादनको बजारको खाँचो छैन ।”
यहाँ उत्पादित वस्तु यहीँ खपत हुने गरेको स्थानीयको भनाइ छ । यस फार्म स्टेमा एकै पटकमा करिब २५ देखि ३० जनालाई रातिमा बास बस्न सकिनेछ । अधिकांश कोठामा अट्याच रुम रहेका छन् भने केही कोठामा छैन ।
यहाँ आउने पाहुनालाई जैविक र स्वास्थ्य खानाबाट स्वागत गर्ने गरिन्छ । जसले पर्यटकलाई आकर्षण गरिरहेको स्थानीयको भनाइ छ ।
फार्म स्टेमा पुगेका नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष डीपी अधिकारीले यस फार्म स्टेको बसाई र जैविक खानाले पाहुनालाई लोभ्याउने गरेको बताए।
उनले भने, “धेरै टाढा पनि छैन, यसले आन्तरिक पाहुनाको आकर्षण केन्द्र बनेको छ, यहाँको सेवा, सुविधा र पाहुनालाई गरिएको स्वागत, सत्कारले पनि लोभ्याउने गरेको छ ।”
यहाँबाट विभिन्न हिमशृङ्खला, रमणीय पहाडका टाकुरा देखिन्छन् । यस क्षेत्रको प्रवद्र्धनमा सहयोग पुगेमा ग्रामीण क्षेत्रको पूर्वाधार विकाससँगै उद्यमशीलताको नमूना बनेको छ ।
ग्रामीण क्षेत्रको पूर्वाधार विकाससँगै उद्यमशीलताको ढोका खुल्ने क्रम बढ्दो छ । स्थानीय पूर्वाधार तथा संरचनाको विकास र प्रवद्र्धनमा पनि ग्रामीण उद्यमशीलताले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ ।
ग्रामीण क्षेत्रको पूर्वाधार विकासले स्थानीयलाई उद्यमशीलतामा जोड्नुका साथै आर्थिक रुपमा सवल बनाउन सहयोग पुगेको छ ।