निजी विद्यालयलाई सरकारीकरण गर्नु आवश्यक छैन : मुख्यमन्त्री
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २४ बिहिबार
464
Shares
फाइल तस्बिर
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी विद्यालय सरकारले बनाएको नियमभित्र रहेर सञ्चालन भइरहेकाले सरकारीकरण गर्न आवश्यक नरहेको बताएका छन् ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को कोशी प्रदेश अधिवेशनलाई आज उद्घाटन गर्दै उनले निजी क्षेत्र शिक्षाबाट बाहिर हट्न खोजे समस्या हुने बताए । उनले भने, ‘यथार्थमा स्वास्थ्य र शिक्षा सरकार एक्लैले जिम्मा लिन सक्दैन ।’
मुख्यमन्त्रीले सामुदायिक विद्यालयको अवस्था हेर्दा राज्यले काम गर्न नसकिरहेको अवस्था देखिएको भन्दै पहिले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सरकार लाग्नुपर्ने बताए ।
संविधानले तीन खम्बे अर्थनीतिलाई आत्मसात गरेको उल्लेख गर्दै उनले भने, ‘हरेक क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य नगर्दा हाम्रा कुनै पनि योजना सफल हुँदैन ।’
मुलुकको आर्थिक समृद्धिलाई अघि बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताउँदै मुख्यमन्त्री कार्कीले राज्यको संविधान र कानुनको परिधिभित्र रहेर काम गर्न आग्रह गरे ।
उनले निजी क्षेत्रलाई अघि बढाउन प्रदेश सरकार तयार रहेको बताए । प्याब्सनका पूर्वअध्यक्ष टीकाराम पुरीले सरकारले जनसंख्या वृद्धिसम्बन्धी नीति ल्याउनुपर्ने माग गरे ।
उनले युवा जनशक्ति विदेश पलायन भएसँगै जन्मदर समेत कम भएको भन्दै पुरीले जनसंख्या वृद्धि नीति ल्याउनुपर्ने आवश्यकता औंल्याए ।