arrow

सञ्चार मन्त्रीको बोली

अनलाइन क्षेत्र निकै छाडा छ - मन्त्री गुरुङ [भिडियो]

राष्ट्रिय एकता बलियो बनाउनका लागि पनि अनलाइन मिडियामा नियमन गर्न जरुरी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २३ बुधबार
prithivi-gurung.jpg

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई बलियो बनाउन अनलाइन मिडियाहरूको नियमन गर्न जरुरी रहेको बताएका छन् । बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले  नेपाली अनलाइन क्षेत्र छाडा र अराजकता उन्मुख रहेको उनको भनाइ छ । 

उनले प्रेस स्वतन्त्रताको नाममा जे मन लाग्यो त्यही लेख्ने प्रवृत्तिको विकास भएको भन्दै यसको नियमन गर्न जरुरी रहेको बताए । उनले सांस्कृतिक सहअस्तित्व र धार्मिक सहिष्णुताको हिसाबले नेपाल विश्वमै नमुना भए पनि पछिल्लो समय सामाजिक सद्भाव भड्काउने क्रियाकलाप भइरहेको बताए । अनलाइन मिडियाले सामाजिक सद्भाव, आपसी एकता र धार्मिक सहिष्णुता प्रवर्द्धन गर्ने कार्यमा सहयोग नगरेको जिकिर गर्नुभयो । उनले हेट स्पिचको माध्यमबाट व्यक्ति विशेष र समाजकै बदनाम गरेर लोकतन्त्र बलियो नहुने उल्लेख गर्दै उनले अनलाइन क्षेत्रलाई नियमन गर्न सरकार लागिपरेको समेत बताए । 

मन्त्री गुरुङले भने, ‘यो अनलाइन क्षेत्र निकै छाडा छ । यो त सबैले महसुस गर्ने विषय होइन ? अराजकतालाई प्रश्रय दिएर लोकतन्त्र बलियो हुन्छ ? प्रेस स्वतन्त्रताको अर्थ जे मन लाग्यो त्यही भन्न पाउने र जे मन लाग्यो त्यही लेख्ने पाउने हो र ? त्यो त होइन होला नि त । सबैले नियमभित्र बस्ने तर अनलाइनले आचारसंहितामा नबस्ने भन्ने छ र दुनियामा ? त्यसकारण अहिले फेक न्युजहरू दिनेदेखि लिएर बुलिङ गर्नेसम्मका कामहरू भइरहेका छन् । हाम्रो देश त धार्मिक सहिष्णुताको लागि एउटा नमुना हो नि त । यद्धपी यहाँ दसौँ धर्मावलीका मानिसहरू बस्दछन् । तर अहिलेसम्म हामीले धार्मिक द्वन्द्व भएको देखेका छैनौँ । तर छिमेकी भारतमा कति धेरै चलिरहेको हुन्छ । सामाजिक सद्भाव कायम गरेर बसेको मुलुक हो हाम्रो । सांस्कृतिक सहअस्तित्वको हिसाबले, सामाजिक सद्भावको हिसाबले नेपाल साँच्चै नमुना र सुन्दर मुलुक हो । के यसलाई प्रवर्द्धन गर्ने कुरामा अनलाइन मिडियाले सहयोग गरेको छ ? गरेको छैन नि । धार्मिक सद्भाव भड्काएर दुर्गा प्रसाईँलाई प्रयोग गरेर अराजता सिर्जना भयो । त्यो राम्रो कुरा हो त । राष्ट्रिय एकता र राष्ट्रिय स्वाधीनता, स्वतन्त्रताको कुरामा हामीलाई असाध्यै कमजोर बनाइरहेको छ । राष्ट्रिय एकता बलियो बनाउनका लागि पनि अनलाइन मिडियामा नियमन गर्न जरुरी छ । हेट स्पिचको माध्यमबाट गलत कुराहरू भनेर कुनै व्यक्ति, पार्टी, समाज र समुदायको बदनाम गर्ने प्रवृत्तिले सभ्य समाज निर्माण हुनसक्छ ? यसले हाम्रो लोकतन्त्र बलियो हुँदैन । त्यसकारणले यसको नियमन गर्न जरुरी छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ